बुधबार, जेठ १, २०८२

चोभारको सुक्खा बन्दरगाह असार मसान्तपछि सञ्चालनमा आउने

नेपालखोज २०७८ असार १४ गते १३:३२

काठमाडौं । चोभारमा निर्माणाधीन सुख्खा बन्दरगाह असार मसान्तपछि सञ्चालन गर्न सकिने भएको छ । इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले चोभारको सुक्खा बन्दरगाह यही असार मसान्तभित्र सम्पन्न गरी सकिने बताए ।

बन्दरगाहको काम ९० प्रतिशत सम्पन्न भइसकेको र बन्दरगाह सञ्चालनका लागि पूर्वाधार बनिसकेको उनले बताए । केही बाँकी रहेका काम यसै आर्थिक वर्षभित्रैमा सम्पन्न गरिसकिने पनि उनले बताए ।

उनले भने ‘भन्सारको लागि र क्वारेन्टीनका लागि विल्डिङ तयार भइसकेको छ । प्रशासनिक भवन निर्माण भइसकेको छ । एप्रिजल सेट जहाँ चेकजाँच गरिन्छ । ३ वटा तयार भइसकेको छ ।

ठुलो-ठुलो गोदामहरु २ वटा निर्माण भइसकेकको छ । कन्टेनर यार्ड त्यो पनि तयार भइसकेको छ । पार्किङ यार्डहरु बनिसकेको छ । गेट तिनवटै धमाधम सकिने स्थितिमा छ ।

ड्राइभरका लागि खाना पकाउने ठाउँ , ट्वाइलेट, वाथरुम बनिसकेको छ । सञ्चालन गर्ने स्थितिमा पुगिसकेका छौँ ।’ काठमाडौंमा बनेको सुख्खा बन्दरगाहका कारण बाहिरी देशबाट सिधैँ काठमाडौंमा आउने सामग्रीहरु ल्याउन सहज हुने कार्यकारी निर्देशक गजुरेलले बताए । उनले भने ,‘बाहिरी देशबाट आउने सामानहरु जो काठमाडौंको गन्तव्य हुन्छ ।

उनीहरुले म विरगञ्ज, विराटनगर, भैरहवा, नेपालगञ्जमा क्लियर गर्दिन सिधैं काठमाडौंमा क्लियर गर्छु भन्दा यो सञ्चालनमा आएपछि यहीँ ल्याएर क्लियर गर्न सक्नुहुन्छ ।

व्यापारलाई सहजीकरण गर्ने, सामानको ढुवानी, ओसार-पसार गर्ने मुल्य घटाउन यसले महत्वपूर्ण योगदान दिनेछ । अहिले पनि तेस्रो मुलुकबाट आउने अथवा नेपाल, भारत, चीनबाट आएको ६० देखि ७० प्रतिशत सामान त काठमाडौंमा नै आइराखेको छ भनेपछि भोलीको दिनमा काठमाडौंको सामान काठमाडौंमा नै क्लियर हुने अवसर हुन्छ । यसले व्यापार सहजीकरण पनि गर्छ । लजिस्टिक कस्ट कम गर्छ । त्यसैले या बन्दरगाह महत्वपूर्ण छ ।’


विरगञ्ज, विराटनगर, भैरहवा, नेपालगञ्जमा क्लियर नगरी सामग्री एकैचोटी काठमाडौंमा क्लियर गर्न सकिने हुँदा बन्दरगाहले व्यापारलाई सहजीकरण र सामानको ढुवानी ओसार–पसार गर्ने मुल्यलाई घटाउन योगदान गर्ने उनले बताए ।

पृथ्वी राजमार्ग हुँदै बन्दरगाहसम्म सामाना ढुवानी गरिने उहाँले जानकारी दिए । बन्दरगाहको लागत अनुमान १ अर्ब ८० करोड रहेको उनले बताए ।

प्रतिक्रिया