नेपालको अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्छ : गृहमन्त्री पौडेल

काठमाडाैं । गृहमन्त्री विष्णु प्रसाद पौडेलले नेपालको अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने बताए । सोमबार अध्यागमन विभागले गरेको प्रणाली सिर्जित क्यू.आर. कोडसहित छपाई गरिएको भिसाको शुभारम्भ कार्यक्रममा बोल्दै गृहमन्त्री पौडेलले नेपालको अध्यागमनलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले विदेशीको पहिलो आँखा अध्यागमनमै पर्ने उल्लेख गर्दै अध्यागमनको सुधार गर्नुपर्नेमा जोड दिए । अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनको निम्ति कामको योजना बनाएर अघि बढ्नुपर्ने पनि उनले बताए ।
मन्त्री पौडेलले अध्यागमन प्रणालीलाई प्रभावकारी बनाउनका लागि र यसको प्रतिष्ठालाई माथि उठाउनको निम्ति प्रभावकारी भुमिका निर्वाह गर्न निर्देशनसमेत दिए ।
अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले क्यू.आर. कोड सहितको नेपाली कोडबाट सिधै छपाइ हरने भिसा प्रणालीको सुरुवात् गरिएको बताए । यसबाट विदेशी नागरिकहरुले विश्वको जुन कुनै ठाउँबाट पनि भिसाको लागि आवेदन दिन सक्ने बताए ।
उनले विदेशी नागरिकले विवरण नेपाली पोर्टमा राखिसकेपछि भिसामा चाहिने विवरण कन्भर्ट भएर भिसा स्टिकर छपाइ हुने र नयाँ भिसा स्टिकरमा प्रयोग भएको क्यू.आर. कोडले यात्रा गर्ने मानिसको गोप्य सूचनाहरु स्टोर गर्ने भएको हुनाले विश्वसनीय, भरपर्दो र अन्तर्राष्ट्रिय स्तरमा तुलनायोग्य रहेको बताए ।
अन्तर्राष्ट्रिय रुपमा भुक्तानी प्रणाली सुरु नभएकाले तत्कालै विद्युतिय भिसा जारी गर्न नसकेपनि इन्टरनेशनल पेमेन्ट गेटवे सञ्चालन हुन वित्तिकै विद्युतिय भिसा जारी गर्न सकिने उनले बताए ।
विदेशीले नेपाली पोर्ट लग इन गरी भिसा एप्लाइ गर्न सक्ने तथा क्रेडिट कार्ड स्वाव गरेर पैसा तिर्न सकिने उनले जानकारी दिए । त्यसरी तिरेको पैसा महालेखा नियन्त्रकको कार्यालयले तोकेको खातामा जम्मा हुने पनि उनले जानकारी दिए ।
यसरी एप्लाइ गरेको व्यक्तिलाई अध्यागमन विभागले यहीँबाट हेरेर भिसा स्वीकृत/अस्वीकृत गर्न सक्ने र स्वीकृत भएको खण्डमा विभागले जारी गरेको इलेक्ट्रोनिक ट्राभल औथराइजेशन बोकेर नेपाल आउनसक्ने महानिर्देशक भट्टराईले बताए ।
यात्रुको इलेक्ट्रोनिक ट्राभल अथोराइजेशन हेरेर नेपालको प्रवेश विन्दुमा नेपालको भिसा स्टिकर उपलब्ध गराउन सकिने उनले बताए ।
अध्यागमन विभागको यो सेवाबाट पर्यटकहरुले नेपालमा सहज रुपमा भिसा प्राप्त गर्नसक्ने र पर्यटन क्षेत्रको समेत विकास हुने महानिर्देशक श्रेष्ठले बताए ।
प्रतिक्रिया