बुधबार, जेठ १, २०८२

‘ए’ डिभिजन लिग असोज ३ गतेदेखि हुने

नेपालखोज २०७८ असार १४ गते १९:२७

काठमाडौं । फुटबल विकासको मेरुदण्ड मानिने सहिद स्मारक ‘ए’ डिभिजन लिग २०२१ असोज ३ गतेदेखि हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज सबै पदाधिकारीहरु सँग छलफल गरेर ‘ए’ डिभिजन लिग असोज पहिलो साताबाट गर्ने बताएको छ ।

आज (सोमबार) दिउसो एन्फा मुख्यालयमा बसेको ‘ए’ डिभिजन लिग र एन्फा पदाधिकारीहरुको बैठकले लिगको मिति तय गरेको हो । बैठकबाट ‘ए’ डिभिजन लिगका लागि खेलाडी दर्ता बुधबारबाट खुला हुने बताएको छ । कोरोना महामारीका कारण समयमा हुन नसकेको लिग सञ्चालन गर्न एन्फाले असोज महिनालाई तोकेको हो ।

असोजबाट हुने लिगमा बी डिभिजन लिगबाट बढुवा भएको सातदोबाटो युथ क्लबले लिगमा प्रतिस्पर्धा गर्नेछ भने लिगको पुछारमा रहेर लिग टुङ्गाएको सरस्वती यो सिजनमा हुने छैन ।

एन्फाले लिग असोजमा सुरु गर्ने मिति घोषणा गरेपनि सकिने मिति भने खुलाएको छैन । एन्फाको क्यालेन्डर अनुसार ‘ए’ डिभिजन लिग भदौदेखि चैतसम्म सञ्चालन गर्ने उल्लेख छ । सोही लक्ष्य अनुसार शीर्ष डिभिजन लिग करिब ६ महिना सञ्चालन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया