इंग्ल्यान्ड र युक्रेन युरोकप फुटबलको क्वाटरफाइनलमा, जर्मनी र स्विडेन बाहिरिए

काठमाडौं । उपाधि दाबेदार जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड र स्विडेनलाई पराजित गर्दै युक्रेन १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आज बिहान भएको राउण्ड अफ १६ को अन्तिम खेलमा स्विडेनलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै युक्रेनले अन्तिम आठमा स्थान बनाएको हो । स्कटल्याण्डको ह्याम्पडेन पार्कमा युक्रेनलाई जित दिलाउन ओलेक्सान्डर जिन्चेन्को र अर्टिम दोभ्बिकले एक एक गोल गरे । स्विडेनका इमिल फोर्सवर्गले एक गोल फर्काए ।
रोमान्चक बनेको खेलको निर्धारित ९० मिनेट १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १ सय २० औं मिनेटमा अर्टिमले गोल गर्दै युक्रेनलाई २–१ को महत्वपूर्ण जित दिलाए । जितसँगै युक्रेन क्वाटरफाइनलमा पुग्ने आठौं टोलि बनेको छ । यससँगै युरोकपको क्वाटरफाइनल समीकरण समेत पूरा भएको छ । स्विडेन भने बाहिरिएको छ । अब युक्रेनले क्वाटरफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।
गए राति भएको अर्को खेलमा तीन पटकको च्याम्पियन जर्मनीलाई २–० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको छ । लण्डनस्थित वेम्बली स्टेडियममा इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङ र ह्यारी केनले एक एक गोल गरे ।
यससँगै इंग्ल्यान्ड क्वाटरफाइनलमा पुग्ने सातौं टिम बनेको छ । इंग्ल्यान्ड दोस्रो पटक युरोकपको क्वाटरफाइनलमा पुगेको हो । यो जितसँगै इंग्ल्यान्डले ५५ वर्षपछि जर्मनीलाई नकआउट चरणमा पराजित गर्न सफल भएको छ । यसअघि इंग्ल्यान्डले जर्मनीलाई १९६६ को विश्वकप फाइनलमा पराजित गरेको थियो ।
जर्मनी भने प्रतियोगिताको राउण्ड अफ १६ बाट बाहिरिएको छ । जर्मनी पहिलो पटक मुख्य प्रतियोगिताको राउण्ड अफ १६ बाट बाहिरिएको हो ।
प्रतिक्रिया