सोमबार, वैशाख २९, २०८२

‘नेपाल पक्षीय नेताहरू १८ गतेको केन्द्रीय कमिटी बैठकमा नआउनुपर्ने कारण छैन’

नेपालखोज २०७८ असार १६ गते १९:५६

काठमाडौं । नेकपा एमालेले आन्तरिक कलहलाई साम्य पार्न २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काउन स्थायी समितिबाट निर्णय गरेसँगै नेतृत्वबीचको वैैमनस्य कम हुने बताइएको छ । पार्टीले माधव नेपाल समुहलाई गरेको कारबाही पनि निष्क्रिय पार्ने निर्णय गरेपछि पार्टी एकताको ढोका खुलेको विश्लेषण हुन थालेको छ ।

नेकपा एमालेका नेता तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले असार १८ गते बोलाइएको केन्द्रीय कमिटीको बैठकमा नेता माधवकुमार नेपाल पक्षीय नआउनुपर्ने कुनै कारण नभएको बताए । बुधबार संचारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री पौडेलले नेकपा एमालेले २०७५ जेठ २ गते अघि रहेको पार्टी केन्द्रीय कमिटी व्युँताएको अवस्थामा सबै नेताहरु तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्नु पूर्वको हैसियतमा बैठकमा सहभागी हुन सक्ने बताए ।

मन्त्री पौडेलले माधव नेपाल पक्षीय नेताहरु बैठकमा नआउनु अनुचित हुने पनि बताए । उनले नेताहरु बैठकमा आउने विश्वास पनि व्यक्त गरे । उनले भने– ‘केन्द्रीय कमिटीको बैठकमा आउनका लागि उहाँहरुले अप्ठ्यारो मान्नुपर्ने कुनै कारण छैन् । आजका मितिदेखि कारबाहीका प्रशंग पनि सकियो । र स्वभाविक रुपमा पूर्व हैसियत, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भन्दा अगाडीको अवस्थाबाट, अगाडीको पदिय हैसियतका साथ बैठकमा सहभागी हुन आह्वान गरिसकेपछि त्यो बैठकमा नआउनु सर्वथा अनुचित कुरा हुन्छ । त्यसकारणले म आशा गर्छु उहाँहरु आउनुहुनेछ ।’

अर्थमन्त्री पौडेलले पार्टीको अन्तरविरोध पार्टीको दायरा भन्दा बाहिर पुगिसकेको उल्लेख गर्दै अन्तर विरोधहरुलाई पार्टीको दायरामा फर्काउनु पर्ने बताए । पार्टीभित्रै बसेर समस्याको समाधान गर्नुपर्ने र पार्टीलाई एकतावद्ध बनाउनु पर्नेमा उनको जोड छ । आगामी दिनमा नेकपा एमाले व्यक्तिको स्वेच्छाचारीतामा नचली पार्टी निर्णयको आधारमा चल्छ भन्ने कुराको सुनिश्चितता गर्नका लागि आगामी केन्द्रीय कमिटीको बैठक बस्न लागेको उनले स्पष्ट पारे ।

उनले कुनै खास कालखण्डमा दलको सदस्य निर्दलिय हुन्छ भनेर संविधानको गलत व्याख्या गर्न खोजिएको टिप्पणी पनि गरे । दलको सदस्य कहिल्यै पनि निर्दलीय नहुने उनले जिकिर गरे । संवैधानिक व्यवस्थामा निर्दलिय अभ्यास गर्नु नहुनेमा उनको जोड छ ।

नेकपा (एमाले)ले बुधबार दशौँ महाधिवेशन आयोजक कमिटीलाई भंग गरी २०७५ साल जेठ २ गतेको अवस्थामा रहेको केन्द्रीय कमिटी व्युँताएको छ । सो केन्द्रीय कमिटीको बैठक असार १८ गते बोलाईएको छ । नेता माधवकुमार नेपाल पक्षको माग पनि यही रहेकोले आगामी बैठकमा नेपाल पक्ष नेताहरु बैठकमा सहभागी हुन्छन् कि हुँदैनन् भन्ने आम चासोको विषय बनेको छ ।

प्रतिक्रिया