सोमबार, वैशाख २९, २०८२

नारायणगढ-मुग्लिन खण्ड र पृथ्वी राजमार्ग ठाउँ-ठाउँमा अवरुद्ध

नेपालखोज २०७८ असार १७ गते ७:४६

चितवन । नारायणगढ–मुग्लिन खण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका ६, पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले पन्छाउन कठिन भएको छ । पहिरो गए राति २ः१० बजे खसेको हो । यस क्षेत्रमा निरन्तर पानी परिरहेको छ ।

यस्तै पृथ्वी राजमार्ग पनि पहिरोले ठाउँठाउँमा अवरुद्ध भएको छ । तनहुँको पूर्वी नाका आँबुखैरेनीदेखि पश्चिम नाका कोत्रेसम्मको करिब ७२ किलोमिटर दूरी पर्ने राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोला नजिक पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ । त्यसैगरी व्यास नगरपालिका–१२ घाँसीकुवा र छिर्कनमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

पहिरो गएर राजमार्ग अवरुद्ध भएपछि बिहान ३ बजेदेखि प्रहरी राजमार्ग खुलाउन व्यस्त रहेको उनले बताए । उनका अनुसार बन्दिपुर गाउँपालिकामा पहिरो गएर राजमार्ग अवरुद्ध भएको छ । बन्दिपुर–१ गुरदुम र बन्दिपुर–४ डुम्रेमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।

प्रतिक्रिया