आइतबार, वैशाख २३, २०८१

स्वास्थ्य मन्त्रालयलाई मनोज गजुरेलले हस्तान्तरण गरे ६५ थान बाइप्याप भेन्टिलेटर

नेपालखोज २०७८ असार १७ गते १६:२३

काठमाडौं । सामाजिक कल्याण संघ जनउद्धार केन्द्र मलेसियाले कोभिड-१९ का बिरामीका लागि आवश्यक पर्ने बाइप्याप भेन्टिलेटर (BIPAP Ventilator) हस्तान्तरण गरेको छ ।

वेस्टर्न डिजिटलमा कार्यरत नेपाली र लभ पेनाङ नेटवर्कको सहकार्यमा सामाजिक कल्याण संघ जनउद्धार केन्द्र मलेसियाले कोभिड-१९ को बिरामीको उपचारका लागि आवश्यक पर्ने ६५ थान बाइप्याप भेन्टिलेटर बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको हो ।

जनउद्धार केन्द्रको सद्‌भावना दूतका रुपमा रहेका हास्यकलाकार मनोज गजुरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई बाइप्याप भेन्टिलेटर हस्तान्तरण गरे । उनले विदेशबाट संकलन गरी पठाइने कतिपय सामग्री पीडित र लक्षित वर्गसम्म पुग्ने नगरेको र कहाँ कसरी प्रयोग भइरहेको छ भन्ने पनि थाह नपाइने गरेको बताए । यो स्वास्थ्य सामग्री राज्यलाई अभिभावक ठानेर राज्यमार्फत नै आवश्यक ठाउँमा पुगेर सदुपयोग हुने विश्वासका साथ मन्त्रालयलाई दिइएको गजुरेलले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले उपलब्ध बाइप्याप भेन्टिलेटर जिल्ला अस्पतालहरुमा पनि प्रयोग गर्न सकिने बताए । आवश्यक ठाउँहरुमा तुरुन्त पठाइने उनले बताए । बाइप्यापमा अक्सिजन खपत पनि कम हुने उल्लेख गर्दै उनले यसको आवश्यकता रहेको बताए । कोभिड महामारीबाहेक अन्य अवस्थामा पनि यसले काम गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया