राष्ट्रियसभामा सरकारले गरेका काम-कारबाहीबारे विपक्षी गठबन्धद्वारा कडा आलोचना

काठमाडौं । विपक्षी दलहरुले राष्ट्रियसभाको आठौ अधिवेशनमा सरकारका कामकारवाही र राष्ट्रपतिको कामबारे प्रश्न उठाउने भएका छन् । बिहिबार राष्ट्रियसभाको आठौ अधिवेशनको पहिलो बैठकबाट बाहिरिदै गर्दा संञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेकपा माओवादी केन्द्रका राष्ट्रिय सभा सदस्यले अधिवेशनमा सरकारका गलत कार्यविरुद्ध कडा र प्रभावकारी ढंगले प्रश्न उठाउने बताएका हुन् ।
प्रतिनिधिसभा पनि नभएको र मुलुकमा राजनीतिकलगायत विभिन्न क्षेत्रमा समस्या देखिएको भन्दै ती सबै विषय र जनताका सवालहरुबारे अधिवेशनमा सरकारसंग जवाफ माग्दै गलत निर्णयको जवाफ खोज्नुको साथै समस्या समाधानका निम्ति उपाय सुझाउने बताए ।
राष्ट्रियसभा सदस्य रामनारायण विडारीले राष्ट्रियसभा भनेको एड्भाईजरी काउन्सिल जस्तो सभा पनि भएकाले सरकारले गरेका कामकारवाहीको आलोचना गरेर सुझाव दिन सक्ने बताए । प्रतिनिधिसभा नभएको बेलामा राष्ट्रियसभा झन महत्वपुर्ण हुने भन्दै प्रधानमन्त्रीले गरेको ज्यादती, राष्ट्रिपतिबाट भएका वेठिक कामहरुबारे सभामा प्रश्न उठाउने बताए ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका दिनानाथ शर्माले मुलुकमा अहिले देखिएका विकृतिहरु, विसंगतिहरु राष्ट्रियताका समस्याहरु, संविधानमाथि भएका समस्याहरु र लोकतन्त्रमाथि आएका खतराका विषयमा पनि राष्ट्रियसभामा शसक्त आवाज उठाउने बताए ।

उनले समसामयिक विषयहरुलाई राष्ट्रियसभाबाट शसक्त रुपमा प्रस्तुत गरेर प्रभावकारी बनाउनका लागि प्रयत्नशिल गर्ने पनि बताए । उनले सभामा रहेका विधेयकहरुलाई टुंग्याउने तथा जनताका समस्या राख्ने थलोको रुपमा प्रयोग गरिनुपर्ने बताए । तर सरकारले बिजनेस नभएको भन्दै दुईचारदिन मात्रै बैठक चलाएर अधिवेशन अन्त्य गर्ने गरेको भन्दै उनले आपत्ती जनाए ।
त्यस्तै, जनता समाजवादी पार्टी नेपालका राष्ट्रियसभा सदस्य शेखरकुमार सिंहले राष्ट्रियसभाले पनि आफ्नै उपलब्धिमुलक कामहरु गर्न सक्ने भनेर नै उपल्लो सदनको परिकल्पना गरिएको उल्लेख गर्दे सौहर्दपुर्ण रुपमा सफल बनाउने बताए । उनले भने “प्रतिनिधिसभा नभएको बखतमा पनि राष्ट्रियसभाले पनि आफ्नै उपलब्धिमुलक कामहरु गर्न सकिन्छ । त्यसैको लागि यो उपल्लो सदनको परिकल्पना गरिएको हो । त्यसमा यावत विषयमा हामी सौहर्दपुर्ण रुपमा सफलतापुर्वक यसलाई सफल बनाउँछौ ।”
प्रतिक्रिया