आज एमालेको केन्द्रीय कमिटी बैठक, यस कारण सहभागी नहुने भए नेपाल-खनाल पक्ष !

काठमाडौं । नेकपा एमाले झन्डै विभाजनजस्तै छ । पार्टीभित्र दुई खेमाको जुँगाको लडाइँ जारी छ । दुवै पक्षले आफ्ना अडान छाडेका छैनन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली आफू इतरका नेताहरुलाई पेलेरै अघि बढिरहेका छन् । अर्कातर्फ भने माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष जसरी हुन्छ ओली पक्षलाई घुँडा टेकाएरै छाड्ने तयारीमा छन् ।
जे भने पनि अहिलेको अवस्थामा नेपाल-खनाल पक्ष पार्टीभित्र कमजोर देखिएको छ । तर पनि पार्टी र अध्यक्ष केपी ओलीको विपक्षमा विविध समानान्तर गतिविधिहरु भने चलाइरहेका छन् ।
आज (शुक्रबार) भने नेकपा एमालेको केन्द्रीय कमिटी बोलाइएको छ । अध्यक्ष ओलीले बोलाइएको केन्द्रीय कमिटीको बैठकमा नेपाल-खनाल पक्ष नजाने भएको छ ।
नेपाल-खनाल पक्षको हिजो (बिहीबार) बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले नि:सर्त रूपमा पार्टीका संगठनलाई २०७५ जेठ २ गतेकै अवस्थामा फर्काउनुपर्नेमा नवौं महाधिवेशनबाट आएका जनसंगठनमा पदाधिकारी थप्ने निर्णय गरेको भन्दै बैठकमा नजाने निर्णय गरेको हो ।
नेपाली राजनीतिमा एमालेको लडाइँले प्रतिपक्षी दलहरुलाई भने अवसरको ढोका खोलिदिएको छ । ओली र नेपाल-खनाल पक्ष विभक्त भएर समानान्तर गतिविधि सञ्चालन गरिरहेको भए पनि नयाँ पार्टीको जन्म भने भइसकेको छैन ।
प्रतिक्रिया