‘देशलाई अनुशासनहीन, उशृंखल र स्तरहीन प्रवृत्तितर्फ धकेल्न खोजियो’

नेपालखोज २०७८ असार १८ गते १६:५३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रगतिशिल शक्तिलाई कमजोर पार्ने प्रयास भइरहेको बताएका छन् । शुक्रबार नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्रको प्रगतिशिल शक्तिलाई बदनाम गर्न र कमजोर पार्नका निम्ति अनेक खालका प्रयासहरु भइरहेको बताए ।

उनले देशलाई अनुशासनहिन, उश्रृङ्खल र सामाजिक सभ्यताहरुको उल्लंघन गरेर स्तरहिन प्रवृत्तितर्फ धकेल्न खोजिएको पनि बताए । उनले नेकपा(एमाले)लाई जनताको बीचमा साख गिराएर ध्वस्त पार्न लागिएको पनि बताए ।

उनले आफ्नै पार्टीको सरकार ढालेर प्रमुख प्रतिपक्षी दलको नेतृत्वमा सरकार बनाउनका लागि संसदीय अभ्यास र दलीय अनुशासनलाई समेत उल्लंघन गर्ने काम भएको बताए ।

उनले भने, ‘हाम्रो पार्टीको साख जनताको बीचमा गिराउन खोज्ने, हाम्रो पार्टीको मर्यादा ध्वस्त पार्न खोज्ने त्यस्ता काम हुने गरेका छन् । आफ्नो पार्टीको सरकार ढाल्ने र प्रमुख प्रतिपक्षी दलका नेतृत्वमा सरकार बनाउने जस्ता लोकतन्त्र, संसदीय अभ्यास, दलीय प्रणाली, दलीय अनुशासनको उल्लंघन गर्ने र अराजकताको स्थिति सिर्जना गर्ने त्यस्ता खालका कामहरु पनि भइरहेका छन् ।’

उनले निषेधाज्ञालाई तोडेर राजनीतिक दलहरु पुत्ला दहनमा लागेको भन्दै असन्तुष्टि व्यक्त गरे । प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कर्तव्य पालना गरिरहेको जिकिर गर्दै राष्ट्रपति भण्डारीमाथि निकृष्ट तहमा ओर्लिएर गाली गलौज, अपमान र झुठा लाञ्छनाहरु लगाएर समाजलाई असभ्य बनाउन खोजिएको बताए ।

प्रतिक्रिया