नदीमा आएको बाढी बस्तीमा पस्दा ३५ घर डुबान

झापा । अविरल वर्षाका कारण नदीहरुमा आएको बाढी बस्तीमा पस्दा जिल्लाका ३५ घर डुबानमा परेका छन् । झापा गाउँपालिका ५, खयरबारीमा २० घर र गौरीगन्ज गाउँपालिका-७ को आमडाँगीमा १५ घर डुबानमा परेका हुन् ।
नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालका अनुसार विरिङ नदीमा लगाइएको बाँध भत्किँदा झापा गापाका २० घर डुबानमा परिसकेका छन् भने आसपासको बस्ती उच्च जोखिममा छन् ।
यसैगरी, गौरीगन्ज गाउँपालिकाको आमडाँगीमा १५ घर डुबानमा परेका छन् । कमल गाउँपालिका ७, झर्काबाट रतुवा नदीको बाढी गौरादह नगरपालिका ५ को बालुबथानतिर पस्ने अवस्थामा छ ।
अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थान जलमग्न भएको र त्यसको विवरण आउन बाँकी रहेको ढकालले बताए । त्यसैगरी कन्काई नदीमा आएको बाढीले शिवसताक्षी नगरपालिका-५ को सिंगो बस्ती डुबानको उच्च जोखिममा परेको छ ।
सशस्त्र प्रहरी हेडक्वाटर २ नम्बर गणका प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले डुबानमा परेका परिवारको उद्धारका लागि सशस्त्र प्रहरीको टोली तैनाथ रहेको बताए । पानी नरोकिए र नदीमा पानीको बहाव नघटे उनीहरुलाई आजै सुरक्षित स्थानमा सारिने उनले बताए । -रासस

प्रतिक्रिया