नेपाली कांग्रेसमा महाधिवेशनको चटारो, क्रियाशील सदस्यता छानबिन तीव्र

नेपालखोज २०७८ असार १९ गते १६:४४

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशनको चटारोमा छ । कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले असार मसान्तभित्र सम्पूर्ण काम सम्पन्न गर्ने गरी काम तीव्र बनाएको छ ।

कांग्रेसको १४औं महाधिवेशनको मिति नजिकिएसँगै क्रियाशील सदस्य छानबिन समितिलाई समयमै काम सम्पन्न गर्ने दबाब बढेको छ । देशैभरिका स्थानीय पालिकाको वडा-वडाबाट सिफारिस हुने क्रियाशील सदस्यमा उजुरी परेपछि छानबिन समितिलाई टुंगो लगाउन समस्या परेको थियो । पुराना सदस्यहरुको क्रियाशील सदस्यता नवीकरणमा समस्या नभए पनि नयाँ सदस्य र विभिन्न पार्टीहरु एकीकरण भई समायोजनमा आएकाहरुमा विवाद देखिएको छ ।

क्रियाशील सदस्यको सूची प्रमाणित गरेर वडा, गाउँपालिका नगारपालिका प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला कार्यसमिति हुँदै केन्द्रमा आउनुपर्ने व्यवस्था छ । छानबिन समितिका सदस्य एवं केन्द्रीय सदस्य श्यामप्रसाद घिमिरेले प्राप्त विवरणहरुलाई हेर्दा धेरै ठूलो समस्या नरहेको र तोकिएको समायमा छानबिन गरी विवरण सभापतिलाई बुझाउन सकिने बताए । प्राविधिक कामको चापलाई घटाउने काम गर्दै काम भइरहेको पनि उनले बताए । समितिमा प्राप्त भएको विवरणमा परेको उजुरीलाई पनि समयमै छानबिन गरी टुंगो लगाउने समिति सदस्य घिमिरेले बताए ।

कांग्रेसको क्रियाशील सदस्य करिब ९ लाख पुग्ने अनुमान गरिएको छ । नेपाली कांग्रेसको संगठनमा क्रियाशील सदस्यलाई सक्रिय कार्यकर्ता मानिन्छ । छानबिन समितिलाई प्राप्त भएको नामावली विवरण हेर्दा युवाहरुको ठूलो हिस्सा कांग्रेसमा रहेको समिति सदस्य घिमिरेले बताए । प्राप्त विवरणमा ३० देखि ४० वर्षको उमेर समूहका सबैभन्दा बढी ४० प्रतिशत रहेको पाइएको समिति सदस्य घिमिरेले जानकारी दिए । कांग्रेसमा नेतृत्व विकाश क्रमशः युवा पुस्तामा सर्दै गएको क्रियाशील सदस्यहरुको विवरणले देखाएको घिमिरेको भनाइ छ ।

कांग्रेसको महाधिवेशन आगामी भदौ २३ गतेभित्र अनिवार्य रुपमा गरिसक्नुपर्नेछ । यसैमा महाधिवेशन तयारीका कामहरु पनि भइरहेका छन् । कांग्रेसमा क्रियाशील सदस्यहरुले महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य छानेर पठाउनेछन् भने केन्द्रीय समितिका सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । कांग्रेसको १४औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुनेछ । कांग्रेसको १३औं महाधिवेशन २०७२ फागुनमा काठमाडौंमा भएको थियो ।
-फाइल तस्बिर

प्रतिक्रिया