बाढी तथा पहिरोमा परि देशभर ३८ जनाको मृत्यु, ३१ जना बेपत्ता

काठमाडौं । गृहमन्त्रालय अन्र्तगतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रले यसबर्षको बाढी तथा पहिरोमा परेर ३८ जनाको ज्यान गएको जनाएको छ । गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख दिल तामाङ्गले यस बर्ष बाढी तथा पहिरोका कारण ३८ जनाले ज्यान गुमाएको र ३१ जना अझै हराईरहेको जानकारी दिए ।
उनका अनुसार बाढी पहिरोमा परि ४७ जना घाईते भएका छन् । शनिबार मात्रै गोर्खा २ र धादिङ्गमा २ गरेर ४ जना पहिरोका कारणले मृत्यु भएको छ । अहिलेसम्म २ सय २ वटा विपदको घटनाहरु रिपोर्टिङ्ग भएको उनले जानकारी दिए । ४ सय ९५ घरहरु पुर्ण क्षति भएका छन् । १ सय १२ घरहरु आंशिक क्षति भएका छन् । सामुदायिक भवन, विद्यालयहरुमा पनि क्षति पुगेको छ । ३ दर्जन सरकारी कार्यालयमा क्षति भएको छ ।
त्यसैगरी २३ वटा झोलुङ्गे पुल, १४ वटा पक्कि पुल, निर्माणाधिन र सञ्चालनमा रहेका साना ठुला गरी २५ वटा हाईड्रोमा पनि बाढीले क्षति पुराएको छ । उनले यो बर्षको मनसुनजन्य क्षति सुरुवातमा नै निकै भयावह बनेर आएको र आफुहरु त्यसको प्रतिकार्यमा लागेको बताए ।
मनसुन सुरु भए लगत्तै अवरुद्ध बनेका मनाङ्ग जाने बाटो, बाजुरा जाने बाटो र सिन्धुपाल्चोकको तातोपानी नाका जाने बाटो लामो समय देखि अवरुद्ध छ । साना साना पहिरो र बाढीका कारण अवरुद्ध भएका सडक तत्काल सञ्चालनका लागि पहल गरिएको र सञ्चालन भएको भए पनि केही स्थानको बाटोहरु लामो समयदेखि अवरुद्ध रहेको प्रमुख तामाङ्गले बताए ।

प्रतिक्रिया