एमालेको विधान महाधिवेशन साउन २५ गते गर्ने प्रस्ताव

नेपालखोज २०७८ असार १९ गते २०:१६

काठमाडौं । नेकपा एमालेले आगामी साउन २५ गते विधान अधिवेशन गर्ने भएको छ । पार्टी अध्यक्ष एंवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास वालुवाटारमा शुक्रबार र शनिबार बसेको १३औ केन्द्रीय समिति बैठकले अगामी साउन २५, २६ र २७ गते काठमाडौंमा विधान अधिवेशन गर्ने निर्णय गरेको हो ।

विधान अधिवेशनमा पार्टी अध्यक्षको संयोजकत्वमा राजनीतिक प्रतिवेदन, महासचिवको संयोजकत्वमा संगठनात्मक प्रस्ताव, संगठन विभाग प्रमुखको संयोजकत्वमा विधान संसोधन प्रस्ताव र नेता रामबहादुर थापाको संयोजत्वमा व्यवस्थापन समिति गठन गर्ने निर्णय पनि भएको प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । असार ५ गतेभित्र पार्टीको सदस्यता नविकरण गरि साउन ५ गते त्यसको अभिलेख पार्टी केन्द्रीय कार्यालयमा पठाईसक्न पनि बैठकले निर्देशन दिएको छ ।

त्यसैगरी पार्टीका तल्लो तहका कमिटीहरुको अधिवेशन अन्र्तगत आगामी भदौ ५ गते वडास्तरका र १५ गते पालिकास्तरका अधिवेशनहरु गर्ने निर्णय बैठकले गरेको छ । त्यसैगरी पार्टीका केन्द्रीय तहका ३२ वटा विभागमा रहने सदस्यहरुको प्रस्ताव र सिफारिस अबिलम्ब पठाउन बैठकले निर्देशन गरेको प्रचार विभाग उपप्रमुख थापाले बताए ।

बैठकले संगठनको काममा केन्द्रीत हुन सबै कार्यकर्तालाई निर्देशन दिएको छ । बैठकमा अध्यक्ष एवंम् प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धनको भ्रम बारेमा स्पष्ट पारेका थिए । नेकपा एमालेविरुद्ध मोर्चाबन्दी गरिएको भन्दै उनले पार्टीका नेता कार्यकर्तालाई सच्चिएर फर्किन आह्वान गरे । अध्यक्ष ओलीले अर्को बैठक सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गरेको भोलीपल्ट काठमाडौं बस्ने गरि सूचना आउने जानकारी पनि बैठकलाई गराएको थापाले बताए ।

उनले भने “बैठकमा पार्टी अध्यक्षले स्पष्ट रुपमा के भन्नुभएको छ भने, पार्टीको १४ औ बैठक अर्थात् आगामी बैठक सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गरेको भोलीपल्ट काठमाण्डौमा बस्ने गरि सुचना आउने छ ।”प्रधानमन्त्री ओलीले अहिले विपक्षी मोर्चामा सामेल भएकालाई सर्वोच्च अदालतको फैसला आउनु अघि नै सच्चिएर आउन आग्रह पनि गरेको प्रचार विभाग उपप्रमुख थापाले जानकारी दिए ।

प्रतिक्रिया