डेनमार्क र इंग्ल्यान्ड युरोकप फुटबलको सेमिफाइनलमा, आगामी खेलमा को-को भिड्ने ?
काठमाडौं । डेनमार्क र इंग्ल्यान्ड युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । रोममा आज बिहान भएको अन्तिम क्वाटरफाइनलमा युक्रेनलाई ४–० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको हो । यस्थै बाकु ओलम्पिक स्टेडियममा गए राति भएको अर्को क्वाटरफाइनल खेलमा चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजित गर्दै डेनमार्कले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
इंग्ल्यान्डलाई सानदार जित जित दिलाउन कप्तान ह्यारी केनले दुई गोल गरे ।यस्तै ह्यारी मग्वाएर र जोर्डन हेण्डरसनले एक एक गोल गरे । यससँगै इंग्ल्यान्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि इंग्ल्यान्ड सन् १९९६ मा सेमिफाइनल पुगेको थियो । अब इंग्ल्यान्डले सेमिफाइनलमा डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ ।
डेनमार्कलाई जित दिलाउन थोमस डेलाने र कास्पर डोलवर्गले एक एक गोल गरे । चेक रिपब्लिकका प्याट्रिक शिकले एक गोल फर्काए । डेनमार्कविरुद्धको गोलसँगै प्याट्रिकले जारी युरोमा ५ गोल पूरा गरेका छन् । यससँगै प्याट्रिकले गोल्डेन बुटको दाबेदारमा क्रिस्टियानो रोनाल्डोसँग बराबरी गरेका छन् । पोर्चुगिज फरवार्ड रोनाल्डोले पनि ५ गोल गरेका छन् । डेनमार्क सन् १९९२ पछि पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको हो ।
यससँगै युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । यस संस्करणमा इंग्ल्यान्ड, इटाली, स्पेन र डेनमार्कले अन्तिम चारमा स्थान बनाएका छन् ।
इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने सेमिफाइनलको खेल बुधबार र बिहीबार हुनेछ । पहिलो सेमिफाइनलमा बुधबार राति १२ः४५ बजे इटाली र स्पेन भिड्ने छन् । दोस्रो सेमिफाइनलमा बिहीबार राति १२ः४५ बजे डेनमार्क र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया