प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज सभामुखका तर्फबाट बहस हुने

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दामा आज सभामुखको तर्फबाट बहस हुने भएको छ ।
सभामुखका तर्फबाट वरिष्ठ अधिवक्ताहरू श्यामप्रसाद खरेल, लवकुमार मैनाली, उपेन्द्र केशरी न्यौपाने र अधिवक्ता मेघराज पोखरेल तथा श्रीकृष्ण सुवेदीले बहस गर्ने सभामुखको सचिवालयले जनाएको छ । त्यसपछि निवेदक पक्षले जवाफ दिनेछन् । जवाफ सकिएपछि अदालतको सहयोगी (एमीकस क्युरी) को बहस हुनेछ ।
शुक्रबार सरकारी पक्षका कानुन व्यवसायीको बहस सकिएपछि सभामुखको तर्फबाट बहस गर्न बाँकी छ । सरकारी पक्षलाई छुट्टाइएको १५ घण्टामध्ये सरकारी वकिललाई ७ र प्रधानमन्त्रीका निजी वकिललाई ७ घण्टा छुट्याइएको हो । त्यसबाट १ घण्टा सभामुखका वकिललाई छुट्टाइएको हो ।
अघिल्लो आइतबार रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ सकिएको थियो । निवेदक पक्षलाई १२ घण्टाको समय दिइएको थियो ।
गत जेठ ७ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक र मङ्सिरमा मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको निर्णय बदर गरेर ती निर्णयविरुद्ध सर्वोच्च अदालतमा ३० वटा रिट निवेदन पेश भएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

प्रतिक्रिया