सर्वोच्च अदालतको फैसलापछि पार्टी एकता हुने गौतमको ठोकुवा

नेपालखोज २०७८ असार २० गते १५:४८

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले सर्वोच्च अदालतको फैसलापछि पार्टी एकता हुने ठोकुवा गरेका छन् । राष्ट्रिय सभाको बैठक पछि संघीय संसदभवन नयाँ वानेश्वरमा संञ्चारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिदै उनले यस्तो बताएका हुन् । यस्तो अवस्थामा एकता सम्भव छ त भन्ने संञ्चारकर्मीको जिज्ञासामा नेता गौतमले सम्भव भएको तर त्यो सर्वोच्चको आदेश पछि सम्भव हुने बताए । उनले भने “एकता संभव छ । अहिले संभव नहोला । सर्वोच्चको निर्णय आएपछि एकता संभव होला भन्ने लागेको छ ।”

त्यस्तै उनले पार्टी अध्यक्ष केपी ओली र नेता माधव कुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता सम्भव नहुने बताएका छन् । साथै उनले ओली र नेपाल एक आपसमा रिसाएको र सो रिस शान्त नभएसम्म दोस्रो तहका नेताको प्रयास पनि सार्थक नहुने बताएका छन् । आफु भने पार्टी एकता गर्नुपर्छ भनेर अध्यक्ष ओलीतिर लागेको र त्यसका लागि दुवै नेताको रिस शिथिल पार्ने प्रयासमा जुटेको उनले बताए ।

उनले भने “एकै ठाउँ भएपछि त एकताको आवश्यकता नै पर्दैन नि । दुईतिर तिनतिर बाँडिएकाहरुलाई नै एकता गराउने हो । अहिले हाम्रो पार्टीमा माधव, झलनाथ एकातिर केपी एकातिर हुनुभयो । पार्टी एकता गराउनकै निम्ति भनेर म केपी ओलीतिर लाग्या छु । मैले एकताको प्रस्ताव अस्ति केन्द्रीय कमिटीको बैठकमा राखेँ । हलले नै मलाई एकताको प्रयत्न मुख्य कुरा बामदेवले गर्नुपर्छ भन्ने पास गरेको छ । यस्तो बेलामा नआत्तिकन सबै साथीहरुलाई धैर्यधारण गरेर प्रत्यन्त गर्नुहोस् भनेर मैले अरुलाई भनेको छु । म त्यसको लागि प्रयत्नशिल छु । लागिरहेको छु । माधव कमरेड धेरै रिसाउनुभएको छ केपी ओली जी संग, केपी ओली पनि माधवसित बेस्सरी रिसाउनु भएको छ । यी दुईटाको रिस नमर्दासम्म उहाँहरुको मातहतमा रहेका साथीहरुको पनि चिन्ताले काम लाग्नेवाला छैन । म यी दुईटैको रिसलाई कसरी शिथिल बनाउन सकिन्छ हो, त्यतातिर लागिरहेको छु । ”

प्रतिक्रिया