भित्तोमा चित्र कोर्न पाउनुपर्ने कलाकारहरुको माग

काठमाडौं । कलाकारहरुले कोरोना महामारीमा अग्रपंक्तिमा खटेर काम गर्ने व्यक्तिहरुको सम्मानका लागि रत्नपार्कस्थित आकाशे पुलको भित्तामा चित्र कोर्न पाउनुपर्ने माग गर्दै महानरपालिकामा निवेदन दिएका छन् ।
कोरोनाविरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, शव व्यवस्थापन गर्ने व्यक्ति, पाइलट र सरसफाईकर्मीको सम्मानका लागि रत्नपार्क स्थित आकाशे पुलको भित्तामा बनाइएको चित्र काठमाडौं महानगरपालिकाले मेटेपछि कलाकारहरुले चित्र कोर्न पाउनुपर्ने माग गर्दे महानगरलाई निवेदन दिएका हुन् ।
दुजाङ्ग शेर्पा नेतृत्वको कलाकारको टोलीले आईतबार काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राजेश्वर ज्ञवालीमार्फत् मेयरलाई निवेदन दिएका हुन् । शेर्पा नेतृत्वको कलाकार टोलीले काठमाडौं महानगरपालिका वडा नं. २८ को अनुमति लिई सो ठाउँमा चित्र बनाएको दाबी गरेको छ । तर महानगरपालिकाले स्वच्छ सफा सहर निर्माणको परिकल्पना अनुसार शहरको सौन्र्दभमा आँच पुगेको भन्दै सो चित्र मेटाएको थियो । कलाकार दुजाङ्ग शेर्पाले कोरोना महामारीविरुद्धमा अग्रस्थानमा रहेर काम गर्ने फ्रन्टलाइनरहरुलाई थोरै भएपनि प्रेरणा मिलोस् भन्ने उद्देश्यका साथ आफुहरुले वडाबाट अनुमति लिएर चित्र बनाएकाले फेरी सोही स्थानमा चित्र कोर्न पाउनुपर्ने माग गरे ।
कलाकारहरुको निवेदन बुझ्दै काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राजेश्वर ज्ञवालीले महानगरपालिका भित्रको महत्वपूर्ण ठाउँहरुमा कुनैपनि काम गर्दाखेरी महानगरपालिकाबाट स्वीकृती र सहमती लिनुपर्ने बताए । उनले वडा कार्यालयसँग सहमती लिनु अघि महानगरपालिकालाई सोधेको भए समस्या नआउने बताए ।
महानगरपालिका आफैले पनि केही स्थानहरुमा सम्पदाको चिनारी गराउने कार्यक्रम राखेको उल्लेख गर्दै कलाकारहरुले बनाएको चित्रले दिनुपर्ने सन्देश तिन हप्तामै दिइसकेको विश्लेषण साथ महानगरपालिकाले चित्र मेटेको उनले बताए । कलाकारहरुले ‘कलाको शहरमा कलाकै हत्या’, ‘सक्छस् सम्मान गर नत्र अपमान नगर’, ‘पुनःस्थापना गर’, लगाएको प्लेकार्ड सहित महानगरपालिका अगाडी धर्ना पनि दिएका थिए ।

प्रतिक्रिया