सहमति कार्यान्वयन नभए त्यसको नोक्सान सरकारलाई नै हुने विप्लवको चेतावनी

नेपालखोज २०७८ असार २० गते १९:०१

काठमाडौं । काठमाडौं नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले आफुहरुसंग भएको सहमति कार्यान्वयन नभए त्यसको नोक्सान सरकारलाई नै पर्ने बताएका छन् ।

चन्द समुहले आईतबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाण्डले संसदवादी दलहरुमा देखिएको राजनीतिक संघर्ष, सरकारविरुद्धको संसदीय मोर्चालगायतले सहमति कार्यान्वयनमा प्रभाव पारेको देखिए पनि त्यसमा सरकार इमान्दार हुनुपर्ने तर्क गरे । सहमति कार्यान्वयनका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटपछि भएको पत्रकार सम्मेलनमा प्रकाण्डले सहमति कार्यान्वयन भएन भने त्यसको मुल्य सरकारले चुकाउनु पर्ने उनले बताए ।

उनले सहमति अनुसार बन्दी बनेका आफ्ना नेता कार्यकर्ता छोड्न ढिलाई भईरहँदा जनस्तरमा विभिन्न प्रश्न उठेको भएपनि सम्झौताको राजनीतिक महत्व घट्यो भन्ने भनाईमा सत्यता नभएको दाबी गरे । सहमति कार्यान्वयनमा जटिलता आएको तर आफुहरुसंगको सहमति कार्यान्वयन गर्नैपर्ने तर्क पनि उनले गरे । बोलेर पुरा नगर्ने प्रवृत्ति राजनीतिमा र धेरै संसदवादमा रहेको उल्लेख गर्दै उनले जनतासंगको राजनीतिमा त्यो स्वीकार नहुने चेतावनी दिएका छन् ।

उनले आईतबारको भेटघाटले एउटा साझा जिम्मेवारी पनि प्रदान गरेको र आफुहरुको तर्फबाट गर्ने कामहरु आफुहरु गर्ने र सरकारको तर्फबाट राजन भट्टराईले गर्ने गरि जिम्मेवारी तोकिएको पनि जानकारी दिए । उनले सरकार र आफ्नो पार्टीबीचको सहमति राजनीतिक मुद्धा भएकाले कुनै पनि राजनीतिक दल वा सत्तापक्ष वा प्रतिपक्षीहरु सहमतिको विरुद्ध जानुपर्ने आवश्यकता नरहेको पनि बताए ।

आजको भेटघाटले जनतालाई आशावादी र उत्साहित बनाउँछ भन्ने आफुहरुले ठानेको भन्दै उनले बन्दी नेता कार्याकर्ताको रिहाई पछि नेपालको राजनीतिक, आर्थिक सामाजिक समस्यालाई शान्तिपुर्ण ढंगले वार्ता र संवादको माध्यमबाट हल गर्ने मुद्धामा प्रवेश गर्ने बताए । त्यसपछि राष्ट्रिय राजनीतिक मुद्दामा पनि छलफल सुरु गर्ने उनले बताए ।

प्रतिक्रिया