काठमाडौं उपत्यकामा भोलिदेखि सबै सवारी चल्ने !

काठमाडौं । उपत्यकामा अबदेखि सबै किसिमका गाडी चल्न पाउने भएका छन् । सार्वजनिक गाडीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने र मास्क लगाउनु पर्ने लगायतका जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने व्यवस्थासहित सबै प्रकारका गाडी चलाउन पाउने व्यवस्था गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
यस्तै सफा टेम्पो र निलो माइक्रोबसको हकमा तेर्सो सिटमा ४/४ जना र चालक छेउमा एक जना यात्रु राख्न पाइने छ । तर सवारी साधनको मध्य भागमा दुई तर्फका यात्रु छुट्याउने गरी प्लस्टिकको छेकबार लगाउनुपर्ने मापदण्ड तोकिएको छ । वैशाख १६ देखि निषेधाज्ञा लगाएको स्थानीय प्रशासनले जोर बिजोरका आधारमा असार ७ देखि निजी र १५ गते २५ सिटभन्दा माथिका बस मात्र चल्ने दिएको थियो ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको संयुक्त बैठकले काठमाडौं उपत्यका भित्रिने गाडीहरूले भने जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्थालाई यथावत् राखेको छ ।
उपत्यकामा थपिएको पछिल्लो निषेधाज्ञा भोलि सकिँदै थियोे । सार्वजनिक सवारीसमेत चलाउन पाइने गरी निषेधाज्ञा दश दिन थपिएको छ । यससँगै उपत्यकामा अब असार ३१ गतेसम्म निषेधाज्ञा जारी रहने छ ।
तर सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, सैलुन, ब्युटी पार्लर, मनोरञ्जनस्थल, फुटसल, जिमखाना, चिडियाखाना लगायत भिडभाड हुने ठाउँमा प्रतिबन्ध लगाइएको छ । त्यस्तै खुला ठाउँमा भोजभतेर वा सभा, समारोह गर्न, मन्दिरमा नित्य पूजाबाहेक सांस्कृतिक गतिविधि गर्न, भौतिक उपस्थितिमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पनि रोक लगाइएको छ ।
प्रतिक्रिया