भोलिदेखि फेरि मनसुन सक्रिय हुँदै, ठूलो पानी पर्ने सम्भावना

नेपालखोज २०७८ असार २२ गते ८:१७

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैदेखि घाम लागेको छ । आइतबार रातभरी पानी परेको उपत्यकामा आज बिहान भने घाम लागेको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित केही ठाउँमा पनि बिहानैदेखि घाम लागेको छ ।

वाग्मती र प्रदेश नम्बर दुईको पश्चिमी ठाउँहरुमा घाम लागेको तर अन्य ठाउँमा भने कतैकतै हल्का पानी परिरहेको महाशाखाले जनाएको छ । यी ठाउँहरुमा बिहानीपख घाम लागे पनि दिउँसोपख पानी पर्ने सम्भावना छ। त्यस्तै, अहिले प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविदले बताएका छन् ।

आज दिउँसो देशभर मौसम बद्ली हुने अनुमान छ । बेलुका हल्का पानी पर्ने तर ठूलो पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ । आज राति भने देशका धेरै ठाउँहरुमा पानी पर्नेछ भने प्रदेश एकमा ठूलो पानी पर्नेछ । भोलिदेखि फेरि मनसुन सक्रिय हुने पूर्वानुमान गरिएको छ । मौसम सक्रिय भएसँगै ठूलो पानी पर्ने मौसमविदले बताएका छन् ।

प्रतिक्रिया