मंगलबार, मंसिर १८, २०८१

धर्मगुरु दलाई लामाले जन्मदिनमा मनाएनन् उत्सव

नेपालखोज २०७८ असार २२ गते १९:०५

काठमाडौं । आज चौधौं दलाई लामा तेन्जिन ग्यात्सोको जन्मोत्सव हो । दलाई लामाको जन्म ६ जुलाई १९३५ मा उत्तर – पूर्वि तिब्बतको एउटा सानो गाउँ तकछेरको कृषक परिवारमा भएको थियो ।

उनको बाल्यकालको नाम ल्हामो दोन्डुब हो । सन् १९८९ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित धर्मगुरु लामा ८६ वर्षको भएका छन् । जन्मदिनमा संसारभरबाट बधाई दिनेहरुलाई धन्यवाद ज्ञापन गर्दै लामाले मानवताको सेवा र जलवायु परिवर्तनका विरुद्धको आफ्नो लडाई जारी रहने कुरा बताएका छन् ।

हरेक वर्ष दलाई लामाको जन्म दिन भव्य उत्सवका साथ मनाइँदै आए पनि यस पटक भने कोभिडको महामारीका कारण भावना उस्तै राख्दै कोभिड नियमहरुको पूर्ण पालना गरिने बताईएकोछ । ६ दशकदेखि भारतमा निर्वासित जीवन बिताइ रहेका दलाई लामाको प्रत्येक जन्मदिन हिमाञ्चल प्रदेशको धर्मशालालगायत संसारभर मनाइँदै आएको छ । यद्यपि यसपटक कोभिडका कारण धर्मशालामा कुनै समारोहको आयोजना गरिएको छैन् ।

कोभिडको महामारीका कारण धर्मगुरु लामाले फेब्रुवरी २०२० देखि नै आफ्ना सबै सार्वजनिक कार्यक्रमहरु रद्ध गरेका छन् । मे २०२० देखि लामा भर्चुअल माध्यममार्फत साप्ताहिक सार्वजनिक वार्ता तथा विचार-विमर्शहरुमा भने सहभागी हुँदै आएका छन् जसको संसारभर ६ करोड दर्शक भएको बताइन्छ ।

प्रतिक्रिया