‘मेरै पहलमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम सुरु भएको हो’

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाश शरण महतले माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माणका लागि आफुले गरेको भूमिकालाई सरकारले अवमूल्यन गरेको बताएका छन् ।
मंगलबार संचारकर्मीसँग कुरा गर्दै नेता महतले आजभन्दा १० वर्ष अगाडी आफु उर्जामन्त्री भएको बेलामा आफ्नै पहलकदमीमा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम शुरु भएको भएपनि सरकारले यसको निर्माणको स्वामित्व केवल आफुले मात्रै लिएको बताए । तत्कालीन अवस्थामा आफुले नै काम नगर्ने ठेकेदारसँगको ठेक्का रद्द गरेर नेपाली सेनालाई काम गर्ने जिम्मा दिएको उनले बताए ।
उनले भने– ‘अपर तामाकोशी जुनबेला आजभन्दा १० वर्ष अगाडी ऊर्जा मन्त्री भएको थिएँ । त्यो अवस्थामा यो अगाडी बढेको हो । त्यो बेलासम्म यसको लगानी कसले गर्ने पनि अनिश्चित थियो । त्यहाँको बाटै जोडिएको थिएन । बाटो नबनीकन ठेक्का लगाउने कुरा भएन । ठेकेदारहरुलाई बाटो बनाउन दिइएको थिए उनीहरु वर्षौ लड्काइरहेका थिए । मैले नै एकल निर्णय गरेर,यो आर्मिलाई नलगाइकन यो पहिरोपनि फोडिदैन, त्यहाँ बाटो पनि पुग्दैन, त्यो नभएसम्म यो ठेक्का पनि लाग्दैन भनेर आर्मिलाई दिएर ठेक्का क्यान्सिल गरेर आर्मिले टेक ओभर गरेर बाटो जोडेर त्यसपछि ठेक्का लगाउने परिस्थिति बनेको हो ।’
उनले आफ्नै पहलमा सरकारबाट ११ अर्ब लगानी गर्ने निर्णय गराएको बताए । नेपाल टेलिकम, नेपाल सञ्चय कोष र नागरिक लगानी कोषको संयन्त्र जोडेर त्यतिबेला ३४ अर्वको लागत अनुमान गरिएको उनले बताए । पछिल्लो समयमा यसको निर्माणमा मिलेमतो, ढिलासुस्ती गर्दा समयमै काम सम्पन्न हुन नसकेको उनले बताए ।
जति बढेपनि यसको लागत ४८/५० अर्ब भन्दा बढी नजाने भएपनि लागतलाई ढिलासुस्ती र मिलेमतोलगायतका कारणले लागत रकम यो भन्दापनि बढाइएको नेता महतले बताए । आफुले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको कामलाई शुरु गरी योगदान गरेको भएपनि त्यसको मुल्यांकन नभएको नेता महतको गुनासो छ ।

प्रतिक्रिया