बिहीबार, चैत १५, २०८०

दिग्गज कलाकार दीलिप कुमारको निधन

नेपालखोज २०७८ असार २३ गते ९:२६

मुम्बई । हिन्दी सिनेमाका दिग्गज कलाकार दिलीप कुमारको निधन भएको छ ।

९८ वर्षको उमेरमा आज (बुधबार) उनको निधन भएको हो । उनी लामो समयदेखि बिरामी थिए । यसअघि मुम्बईका विभिन्न अस्पतालमा उनको उपचार गराइएको आजतकले समाचारमा जनाएको छ ।

११ डिसेम्बर १९२२ मा पेसावर (अहिले पाकिस्तान) मा जन्मिएका दीलिप कुमारको वास्तविक नाम मोहम्मद युसुफ खान हो ।

उनी दादा साहेब फाल्के अवार्डबाट पनि सम्मानित भएका थिए । साथै उनलाई पाकिस्ताको सर्वश्रेष्ठ नागरिक सम्मान निसान-ए-इम्तियाजबाट पनि सम्मान गरिएको थियो ।

बलिउडका पहिलो खान नायक दिलीप कुमारले सन् १९४४ मा चलचित्र ज्वारभाटामार्फत अभिनय सुरुवात गरेका थिए । उनले करिब पाँच दशक लामो फिल्मी करियरमा ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । दिलीप कुमारका प्रसिद्व चलचित्र अन्दाज (१९४९), आन (१९५२), दाग (१९५२), देवदास (१९५५), आजाद (१९५५), मुगल ए आजम (१९६०), गंगा जमुना (१९६१), राम और श्याम (१९६७) आदि हुन् ।

१९७६ मा ५ वर्ष कामबाट ब्रेक लिएर उनले १९८१ मा चलचित्र क्रान्तिमा काम गरे भने त्यसपछि उनी शक्ति (१९८२, मशाल (१९८४), सौदागर (१९९१) मा अभिनय गरे । उनको अन्तिम चलचित्र किला हो । यो १९९८ मा प्रदर्शनमा आएको थियो ।

भारतीय फिल्म इन्डस्ट्रीमा शोकको लहर

दीलीप कुमारको निधनको खबर फैलिएसँगै पूरै भारतीय फिल्म इन्डस्ट्रीमा शोकको लहर छाएको छ । आम-सर्वसाधारणसँगै चलचित्रका हस्तीहरुले पनि सामाजिक सन्जालमार्फत दीलिप कुमारप्रति श्रद्धाञ्जली दिइरहेका छन् ।

प्रतिक्रिया