बिहीबार, वैशाख ६, २०८१

के-हो स्वस्थ खुराक ?

नेपालखोज २०७८ साउन ३० गते १४:०५

काठमाडौं । राम्रो स्वास्थका लागि हामीलाई ‘स्वस्थ खुराक’ को आवश्यकता पर्छ । यद्यपि धेरैजसोलाई के थाहा हुँदैन भने ‘स्वस्थ खुराक’ को सही अर्थ के हो ? ती के-कस्ता खानेकुरा हुन् जसलाई मिलाएर ‘स्वस्थ खुराक’ तयार गरिन्छ ।

लिनेट एम न्युफेल्ड, सेरिल हेंड्रिक्स तथा मार्टा ह्‌युगसले यही वर्ष अर्थात् २०२१ मा तयार पारेको एक कार्यपत्रअनुसार स्वस्थ खुराक त्यो हो जुन हाम्रो स्वास्थ्यका लागि फाइदाजनक छ । त्यसले हामीलाई बिमारी हुन दिँदैन वा रोगहरुबाट जोगाउँछ । पोषणयुक्त भोजनमा हाम्रो शरीरका लागि जरुरी पोषण र स्वास्थ्यका दृष्टिले लाभदायक तत्त्व न कम, न बढी मात्रा सामेल हुन्छ । यस्तो खुराकमा ती चिजहरु सामेल हुँदैनन् जसमा हाम्रो स्वास्थ्यलाई नोक्सान पुर्‍याउने तत्त्वहरु हुन्छन् ।

कार्यपत्र भन्छ- लामो समय बित्दै जाँदा मानिसले अनेक किसिमका खानेकुरा खाइसकेको हुन्छ । यद्यपि एउटा राम्रो खुराकमा तमाम किसिमका खानेकुराको उपयुक्त मिश्रण हुन्छ, कुनै पनि कुरा कम वा अधिक मात्रामा हुँदैन । यस्तो खुराकमा समावेश खानेकुरा सुरक्षित र पोषणयुक्त हुन्छ ।

पोषणयुक्त खानामा सबै किसिमका पोषणयुक्त तत्त्व जस्तो- प्रोटिन, भिटामिन, खनिज, एमिनो एसिड, फ्याटी एसिड तथा रेशायुक्त पदार्थ सामेल हुन्छ । यस्तो खानामा शरीरलाई नोक्सान पुर्‍याउने सोडियम, बोसो तथा चिनीजस्ता तत्त्व कमभन्दा कम मात्रामा हुन्छ ।

ती कार्यपत्र प्रस्तोताका अनुसार कुनै पनि खानेकुरालाई पूर्ण पोषणयुक्त वा कम पोषणयुक्त भन्ने कुनै सार्वभौमिक मान्यता वा मापदण्ड छैन । यद्यपि हालैका वर्षहरुमा एउटा विधि विकसित भएको छ- पोषणको रूपरेखा तयार गर्ने विधि ।

यसमा कुनै पनि खानेकुराको प्रतिसय ग्राम वा सय किलो क्यालोरी इनर्जीबाट प्राप्त हुने पोषणका आधारमा त्यसलाई सूचीकृत गरिन्छ । अहिले कुनै पनि खानेकुराको बढी वा कम पोषणयुक्त गुणलाई श्रेणीबद्ध गर्ने दिशामा धेरै काम हुन बाँकी नै छ ।

मानिसलाई अलग-अलग लिंग, उमेर, भुगोल अनि जीवनको अवस्थाअनुसार फरक-फरक पोषक तत्त्वको आवश्यकता हुन्छ । संसारमा कुनै त्यस्तो पोषक तत्त्व छैन जुन सबैका लागि एक समान रुपमा फाइदाजनक होस् ।

कार्यपत्र भन्छ- यो विषयमा अरु बढी ज्ञान हासिल गर्न बाँकी नै छ । कतिपय खाद्य संयोजनको पोषणसँग सम्बन्धित तथ्यांक राम्रोसँग तयार पनि भएको छैन । जस्तो कि मानिसले खाने कतिपय कीरा-फट्यांग्राका सम्बन्धमा कम जानकारी उपलब्ध छ, किनभने ती कम प्रचलित खाद्य पदार्थ हुन् ।

कतिपय खाद्य पदार्थका बारेमा उपलब्ध तथ्यांक पुराना छन् र त्यसमा सुधारको आवश्यकता छ । त्यसका अतिरिक्त संसारमा खाद्य पदार्थ र त्यससँग जोडिएको स्वास्थ्यसम्बधी विश्वास वा तथ्यमा सर्वसम्मत राय पनि पाइँदैन ।

कार्यपत्रमा लेखकहरुले खाद्य-पोषणका अतिरिक्त खाद्य-सुरक्षाको पनि कुरा गरेका छन् । उनीहरुले यसमा ती परिस्थितिको पनि उल्लेख गरेका छन् जसले कुनै पनि खानेकुरालाई हानिकारक बनाउँछ । कार्यपत्र प्रस्तोताहरु के कुरामा एकमत छन् भने कुनै पनि खाना जैविक संकटका कारण, रोगाणुहरुका कारण वा कीटनाशक औषधि वा दूषित रसायनिक पदार्थका कारण हानिकारक हुन्छ ।

प्रतिक्रिया