बिहीबार, माघ १०, २०८१

बिजुलीको खम्बा ढल्दा तीन दिनदेखि अन्धकार

नेपालखोज २०७७ असार ८ गते ११:५२

पाल्पा । अविरल वर्षाका कारण खसेको पहिराले खम्बा ढल्दा जिल्लाका अधिकांश बस्तीमा तीन दिनदेखि अन्धकार भएको छ । अविरल वर्षा हुँदा खसेको पहिराले बिजुलीको खम्बा ढलेपछि विद्युत् सेवा अवरुद्ध भएको हो । रिब्दीकोट गाउँपालिका ७ बतासेमा पहिराले एउटा विद्युत्को खम्बा बगाएको र अन्य सात ढलेपछि सो क्षेत्र तीनदेखि अन्धकार बनेको छ ।

Advertisement

बतासेमा खम्बा ढलेसँगै रिब्दीकोटका तीन वडा र रैनादेवी छहरा गाउँपालिकाका आठ वडा तथा अर्घाखाँची जिल्लाको पूर्वी भेगमा समेत विद्युत् आपूर्ति हुनसकेको छैन । जिल्लाको बगनासकाली गाउँपालिकाको खानीछापमा समेत एउटा खम्बा ढलेपछि सो क्षेत्र विद्युत्विहीन भएको छ ।

रैनादेवी छहरा गाउँपालिका– ४ अम्लाबाँसका राजेन्द्र पोखरेलले विद्युत् नहुँदा सामाजिक सञ्जाल, रेडियो, टिभी र अत्यावश्यक काम गर्नबाट वञ्चित हुनुपरेको बताए । रातमा बिजुली नहुँदा अन्धकारमा रात बिताउनुपर्ने अवस्था छ । वर्षाका कारण बिजुली नहुँदा, सरकारी कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक रेडियो र घरेलु उद्योग सञ्चालनमा समस्या देखिएको स्थानीय बासिन्दाको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरण, वितरण शाखा पाल्पाका सूचना अधिकारी विवेक अधिकारीले वर्षा रोकिएको अवस्थामा आजदेखि काम शुरु हुने बताए । अझै एक दुई दिन काम गर्न लाग्न सक्ने जनाइएको छ ।

वितरण शाखाको टोली तीन दिनसम्म खम्बा ढलेको स्थानमा पुगेको छैन । पहिराका कारण आफूहरु सो क्षेत्रमा पुग्न नसकेको प्राधिकारण वितरण शाखाले जनाएको छ । बतासेमा अम्लाबाँसको टोली आएर शाखालाई जानकारी गराएको अधिकारीले बताए ।

प्रतिक्रिया