‘एमालेको विवाद समाधान हुने तर्फ अघि बढेको छ’

काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदल सदस्यहरुले पार्टी भित्रको विवाद समाधान हुने दिशामा अघि बढेको बताएका छन् ।
बुधबार अर्थमन्त्रालयमा बसेको एमाले कार्यदलको बैठक पछि पार्टीभित्रको विवाद समाधान हुनेतर्फ अगाडी बढेको नेताहरुले बताएका हुन् । बैठक पछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ नेकपा(एमाले)का प्रवक्ता तथा कार्यदल सदस्य प्रदिपकुमार ज्ञवालीले कार्यदल भित्रको छलफल सकारात्मक निष्कर्ष उन्मुख भएको बताए ।
एमाले विवादलाई भोलिसम्म टुंग्याइने पनि उनले बताए ‘कार्यदलका तर्फबाट नेताहरुसँग परामर्श गर्ने, उहाँहरुका भावनाहरु बुझ्ने कुराहरु पनि भईरहेको छ । कार्यदल भित्र हाम्रा छलफलहरु सकारात्मक निष्कर्षउन्मुख छन् । हामी भोली टुङ्ग्याउने गरी लाग्छौँ । प्राविधि कारणले ढिलो पनि हुनसक्ला तर अहिलेसम्मको हाम्रो छलफलको आधारमा भोली टुंगिन्छ भन्ने मलाई विश्वास छ ।’
त्यस्तै कार्यदल सदस्य सुवासचन्द्र नेम्वाङले पनि छलफल सकारात्मक रुपले अगाडी बढेको प्रतिक्रिया दिए । उनले पार्टी एकताका लागि विभिन्न तहमा भएका प्रयासहरुलाई ध्यान राख्दै पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालसँग पनि परामर्श गर्दै कार्यदल टुंगोमा पुग्न लागेको बताए ।
आज साँझ सम्ममा थप छलफल हुने र भोलि पुनः कार्यदलको बैठक बसेर कार्यदलको बैठकबाट एकताको लागि टुंगोमा पु¥याउने उनले बताए । कार्यदल बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ कार्यदल सदस्य गोकर्ण विष्टले दुवै पक्षबीच अविश्वासको खाडल कम भएको र विश्वासको वातावरण निर्माण भएको प्रतिक्रिया दिए ।
सर्वोच्च अदालतको फैसलापछि पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थाबाट फर्काएर क्रियाशिल बनाउने, माओवादी केन्द्रबाट एमालेमा आएका नेताहरुको व्यवस्थापन गर्ने र प्रतिनिधि सभा विघटनको सम्बन्धमा अदालतमा परेका मुद्दाको सम्बन्धमा आफूहरुले चाहेकै भाषामा सहमती खोज्न नजिक आइपुगको उनले बताए ।
सोमबारदेखि नेकपा(एमाले)को कार्यदल सक्रिय छ । आजको बैठकमा धेरै कुरामा सहमती नजिक पुगेको भन्दै भोलिको बैठकले अन्तिम निष्कर्ष दिने नेताहरुले दाबी गरेका छन् ।

प्रतिक्रिया