अविरल वर्षाका कारण आएको बाढीबाट हुप्सेकोटका १५० घर डुबानमा
सुस्तापूर्व । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीबाट नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकाका १५० भन्दा बढी घर डुबानमा परेका छन् ।
वडा नं ३ बेलहानीको रजाली टोलबाट बुद्ध चोकसम्मका सबै घरभित्र पानी पसेको छ । सोही वडाकै कोलियाका केही टोलमा समेत पानी पसेको छ । स्थानीय बासिन्दाको घर गोठको भूइँतलामा पानी पसे पनि धेरै क्षति हुन भने नपाएको हुप्सेकोट-३ का वड़ाध्यक्ष छविलाल मिथुनले जानकारी दिए ।
यस्तै वडा नम्बर नं ३ बेलहानी र गिरुबारीबीच भागबाट गिरूवारी खोला पसेको छ । विसं २०५७ मा जापान सरकार र नेपाल सरकारको प्रयासमा जाइकाले निर्माण गरेको तटबन्ध नै पार गरेर खोला गिरुबारीको बस्ती तथा खेतमा पसेको हो ।
खेतमा बाढी पसेपछि करीब २० बिघा क्षेत्रफलमा लगाइएको धान नष्ट भएको जनाइएको छ । त्यहाँ करीब १०० बिघाको खेती प्रभावित बनेको स्थानीयवासी विश्वराज लामिछानेले बताए ।
यो तटबन्धलाई तत्काल व्यवस्थित गर्न नसकिए थप क्षति व्यहोर्नुपर्ने उनकाे भनाइ छ । यसैबीच जल तथा मौसम विज्ञान विभागले नवलरासीको पूर्वी क्षेत्रमा शुक्रबारसम्म उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।
विभागले आज नागरिकको मोबाइलमा सन्देश पठाउँदै थप वर्षा हुनसक्ने भएकाले उच्च सर्तकता अपनाउन आग्रह गरेको हो । पछिल्लो १२ घण्टामा यसक्षेत्रमा १६७.८ मिलिमिटरसम्म पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार पछिल्लो १२ घण्टामा गिरुवारी क्षेत्रमा १२७.४ मिलिमिटर तथा जिल्लाको पहाडी क्षेत्र डेढगाउँमा १६७.८ मिलिमिटर वर्षा भएको छ ।
यस क्षेत्रमा अहिले पनि पानी परिरहेकाले विनयी खोला, आरुणखोला, गिरुबारी खोला, केरुङ्गे खोला, बौलाहा खोलालगायत यस क्षेत्रका स-साना खोलामा आकस्मिक रुपमा थप बाढी आउन सक्ने भन्दै तटीय क्षेत्रमा शुक्रबारसम्म उच्च सर्तकता अपनाउन विभागले अनुरोध गरेको छ । मनसुन सुरू भएपछि हरेक वर्ष यस क्षेत्रमा बाढी तथा पहिरोले दुःख दिने गरेको छ । रासस
प्रतिक्रिया