‘भूमिगत र छापामार किसिमले चलिरहेको माओवादी केन्द्र खारेज हुनुपर्छ, निर्णय छिटो हाेस्’

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का पूर्व नेता टोपबहादुर रायमाझीले माओवादी केन्द्र भूमिगत र छापामार किसिमले चलिरहेको आरोप लगाएका छन् ।
शुक्रबार माओवादी केन्द्र खारेजीको लागि निर्वाचन आयोगमा परेको निवेदनको सम्बन्धमा बुझ्नका लागि अन्य नेताहरु सहित पुगेका नेता रायमाझीले माओवादी केन्द्र नेपालको संविधान, कानुन र राजनीतिक दलसम्बन्धी ऐन अनुसार नचली भूमिगत र छापामार किसिमले चलिरहेको आरोप लगाएका हुन् ।
उनले विगत २९ वर्षदेखि सो पार्टीमा महाधिवेशन नभएको भएपनि २०६९ सालमा एउटा नाममात्रैको महाधिवेशन भएको र तत्पश्चात पनि महाधिवेशन नभएका कारण पार्टी नै अवैध भएको पनि बताए ।
उनले अवैध पार्टीले जननिर्वाचित प्रतिनिधिलाई कारबाही गरको पनि उल्लेख गरे । उनले राजनीतिक पार्टीहरु संस्थागत, वैधानिक र कानुनसँगत हुनुपर्ने बताए ।
देशमा राजनीतिक पार्टीहरुमा अराजकता, अस्वस्थ प्रतिस्पर्धा र द्वन्द्व चलेको भन्दै उनले पार्टीहरुलाई सिस्टममा नल्याइ समृद्धि आउन नसक्ने बताए ।
राजनीतिक पार्टीहरु बीचमा सुमधुर सम्बन्ध र स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने उल्लेख गर्दै उनले अन्य राजनीतिक दलसँग प्रतिस्पर्धा गर्न आफ्नो पार्टीभित्र आन्तरिक जनवादको प्रयोग गरि स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने पनि बताए ।
राजनीतिक पार्टीहरुलाई सिस्टममा ल्याउनका निम्ति आफूहरुले माओवादी केन्द्र खारेजीको माग सहित निर्वाचन आयोगमा निवेदन दिएको उनले बताए ।
नेता रायमाझीसँगै निर्वाचन आयोगमा माओवादी केन्द्रका पूर्व नेताहरु मणि थापा, प्रभु शाह लगायत पुगेका थिए । उनीहरुले माओवादी केन्द्र खारेजीको माग गर्दै आयोगमा परेको निवेदनको निर्णय छिटो गर्नपनि आयोग समक्ष आग्रह गरेको नेता रायमाझीले बताए ।
प्रतिक्रिया