नेपाल-भारतबीच रेल सेवा सम्झाैताकाे संशाेधनमा हस्ताक्षर

काठमाडौं । नेपाल–भारतबीच रेल सेवा सम्झौताको संशोधनमा हस्ताक्षर भएसँगै वीरगञ्जमा आधारित भएर हुने आयात निर्यात व्यापार देशको अन्य सीमावर्ती शहरमा पुग्ने भएको छ ।
शुक्रवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव र भारतीय रेलवे बोर्डका एडिस्नल मेम्बर सुशान्तकुमार मिश्रले संशाेधन सम्झौतामा हस्ताक्षर गरेका छन्। संशोधनमा नेपालले तेस्रो मुलुकसँग हुने व्यापारका लागि भारतीय निजी रेल सेवा उपयोग गर्ने मुख्य विषय समेटिएको छ ।
त्यस्तै सम्झौतामा नेपालमा भारतीय रेलको प्रवेश बिन्दु वीरगञ्ज रहेकोमा अब रेल सेवाको पूर्वाधार भएको सिमावर्ती शहरमा पनि आयात निर्यात व्यापारमा सहज हुन सक्ने सुविधा रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले जानकारी दिए ।
संशाेधन भएको सम्झौतामा भारतीय रेल सेवा सञ्चालनमा ल्याउन अनुमति प्राप्त गरेका सबै किसिमका कन्टेनर/वागनहरु नेपाल लक्षित ढुवानीका लागि उपयोगमा ल्याउन सकिने र निजी सेवा प्रदायकले सञ्चालनमा ल्याएका लोकोमोटिभबाट समेत नेपाल लक्षित ढुवानी गर्न गराउन सकिने व्यवस्था गरिएको प्रवक्ता रेग्मीले बताए ।
त्यस्तै नेपाल लक्षित परिवहन कार्गो ढुवानीका लागि नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहने रेल तथा वागनले वीरगञ्ज र विराटनगरदेखि कोलकाता/हल्दियासम्म रेल सेवा दिन सक्नेगरी सम्झौता संशोधन भएको छ । हाल वीरगञ्जसम्म रेल सञ्चालन भएकोमा विराटनगर, भैरहवा र नेपालगंज दोधारा चाँदनीलगायतका स्थानमा रेल सेवाको पूर्वाधार तयार भएपछि सेवा उपलब्ध हुने र नेपाल–भारत पारवहन सन्धिमा व्यवस्था भएअनुसार अन्य पारवहन बिन्दुमा तथा द्विपक्षीय व्यापार नाकाहरुको सहमतिका आधारमा रेल सञ्चालन हुँदै जाने पनि सहमतिमा व्यवस्था गरिएको छ ।

प्रतिक्रिया