नेपाली सिर्जनामा पुनर्जागरण आवश्यक छ : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आ-आफ्ना सृर्जनाहरुले सामाजिक उत्थानका लागि योगदान गरुन् भन्नेमा ध्यान दिन सर्जकहरुलाई आह्वान गरेका छन् ।
सरकारका तर्फबाट विभिन्न विद्याका सर्जकहरुलाई दिइने प्रतिभा पुरस्कार प्रदान गर्न शुक्रबार बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘हामीले रचना गर्दा हाम्रो कृति पढनेको समय बर्वाद नहोस् । त्यस्तै कृति पढन पाए पो भन्ने होस् । समय खेर गएको भन्ने नहोस्’।
कलाका जुनसकै विधाले पनि नेपालीहरुको एकता मानवता र शान्तिको भावना प्रतिविम्बित गर्नु पर्ने बताउँदै उनले नेपाली सृजनामा एउटा ठूलो पुनर्जागरण आवश्यक रहेको धारणा राखे । ‘हाम्रा पुर्खा विश्वमै विशिष्ट सर्जक हुन्, बिचमा हामी दैनिक जीवनयापन मै अलमलिएछौं, पुस्तौं गएछ’, उनले भने ।

नेपाल संसारको अनुपम देश भए पनि विभिन्न कारणले पछाडी परेको प्रधानमन्त्रीको भनाई थियो । ‘पछाडी पर्न हुँदैनथ्यो परेछौं, पर्न मान्न हुँदैनथ्यो, मानेछौं । गरिब हुन मानेछौं, अनपढ हुन मानेछौं, उनले भने अन्यथा विश्वमा कसैका पुर्वज भन्दा नेपालका पुर्वज ज्ञान र कलामा अग्रणी छन् ।’
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले युगकवि सिद्धिचरण श्रेष्ठका नाममा समेत साहित्य पुरस्कार प्रदान गर्ने व्यवस्था मिलाउन र दुई वर्ष अघि आफूले स्थापना गरेको प्रधानमन्त्री प्रतिभा पुरस्कार वितरण गर्न पनि सम्वद्ध निकायलाई निर्देशन दिए ।
कार्यक्रममा प्रधानमन्त्रीले चार विधागत क्षेत्रका स्रष्टाहरुलाई जनही एक लाख रुपैयाँको राष्ट्रिय प्रतिभा पुरस्कार र सातवटै प्रदेशबाट चारवटै विधागत क्षेत्रका स्रष्टाहरुलाई पचास हजार नगदको प्रादेशिक प्रतिभा पुरस्कार र सम्मानपत्रबाट सम्मानित गरेका थिए ।

प्रतिक्रिया