भारतमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

नयाँ दिल्ली । भारतमा इन्धनको मूल्य शनिबार पुनः बढेको छ । शनिबार संघीय राजधानी नयाँ दिल्लीमा पेट्रोल र डिजेलकोे खुद्रा बिक्री क्रमश १०० रूपैयाँ ९१ पैसा र ८९ रूपैयाँ ८८ पैसा (भारू) प्रति लिटर कायम भएको छ ।
दिल्लीमा पेट्रोल यसअघिभन्दा ३५ पैसा र डिजेल २६ पैसाले वृद्धि भएको छ । अन्य राज्यहरूले पनि पेट्रोल र डिजेलको मूल्य बढाएका छन् । देशभर दरहरू बढाइएको भएपनि मूल्य अभिवृद्धि करको कारण मूल्यमा फरक राज्यमा मूल्यमा पनि भिन्नता देखिएको छ ।
महाराष्ट्रको राजधानी मुम्बईमा पेट्रोलको मूल्य प्रति लिटर १०६ रूपैयाँ ९३ पैसा कायम भएको छ भने डिजेलको मूल्य प्रति लिटर ९७ रूपैयाँ ४६ पैसा पुगेको छ । महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारले भने , ‘पेट्रोल र डिजेलको उच्च मूल्यमा दबिएका आम नागरिकलाई राहत दिन केन्द्रले ‘ठूलो मन’ बनाउनुपर्ने र ईन्धनको करलाई घटाउनु पर्ने देखिएको छ ।’
मध्य प्रदेशको भोपालमा पनि पेट्रोलको मूल्य बढेको छ । यहाँ पेट्रोल प्रति लिटर १०९ रूपैयाँ २४ पैसा र डिजेलमा प्रति लिटर ९८ रूपैयाँ ६७ पैसा तोकिएको छ ।
त्यस्तै कलकत्तामा पेट्रोल प्रति लिटर १०१ रूपैयाँ ०१ पैसा र डिजेलमा प्रति लिटर ९२ रूपैयाँ ९७ पैसा कायम भएको छ । उत्तर प्रदेशका भाजपा राज्यसभा सांसद हरदीप सिंह पुरीले बिहीबार केन्द्रीय पेट्रोलियम र प्राकृतिक ग्यास मन्त्रीको पदभार लिएका थिए ।
मन्त्रीको जिम्मेवारी सम्हालेसँगै उनले कच्चा तेल र प्राकृतिक ग्यासको स्वदेशी उत्पादन बढाउने बताएका थिए ।

रासस
रासस नेपालको राष्ट्रिय समाचार एजेन्सी हो । नेपालखोज राससको आधिकारिक ग्राहक पनि हो ।
प्रतिक्रिया