मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध

पर्वत । निर्माणाधीन मध्यपहाडी लोकमार्ग पटकपटक अवरुद्ध हुँदा यात्रु सास्ती खेप्न बाध्य भएका छन् । यही असारको सुरूमै मनसुन भित्रिएकाले दैनिकजसो सडकमा खसेका पहिराले निर्माण कम्पनी मात्रै नभएर स्थानीयवासी, यात्रुलगायत सबैले सास्ती खेप्नु परिरहेको छ ।
सडकको पर्वत खण्डअन्तर्गत बागलुङ सीमाको मालढुङ्गादेखि कास्कीको सीमा नयाँपुलसम्म असारयता दैनिकजसो अवरोध हुने गरेको छ । दैनिकजसो परेको झरीसँगै खस्ने पहिरो तथा सडक हुँदै बग्ने सानातिना खहरे खोलामा आउने बाढीका कारण सडक दैनिकजसो अवरोध हुने गरेको हो ।
गत मङ्गलबार सोही सडकको निर्माण कम्पनी लामा कन्स्ट्रक्सनका मुख्य इन्जिनीयर नै बेपत्ता हुने गरी उर्लिएको कुश्मा–८ दोबिल्लास्थित सुन्दरेखोलाले सडकको करीब ५० मिटर भागमा क्षति बनाएपछि अहिले एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको छ ।
बाढीले बगाएका इन्जिनीयर र चालकको अवस्था अझै अज्ञात छ । लामा कन्स्ट्रक्सनका निर्देशक पीताम्बर बडूले सर्वसाधारणले दुःख पाउन नपरोस् भनेर यातायात खुलाउन निकै प्रयास भइरहेको बताए ।
लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका २ अर्मादी र नयाँपुलको बीचमा खसेको पहिरो हटाएर सडक सहज बनाउन कम्तीमा चार दिन लाग्ने उनको भनाइ छ ।
पहाड नै खसेर अवरोध गरेपछि अहिले ब्रेकर लगाएर ढुङ्गा फोर्ने काम भैरहेको छ । मध्यपहाडी राजमार्गको यो खण्ड धौलागिरिका मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतलाई गण्डकी प्रदेश तथा देशभरका अरू जिल्लासँग जोड्ने एकमात्र स्थलमार्ग हो ।
यसको भरपर्दो वैकल्पिक मार्ग छैन । निर्माणाधीन कालीगण्डकी करिडोर पनि वर्षासँगैका पहिराले क्षतविक्षत् हुँदा आवतजावत टुटेको छ ।
दैनिकजसो घण्टौं सडक अवरुद्ध भएपछि बिरामी तथा अत्यावश्यक कामका लागि प्रदेश राजधानी तथा अन्यत्र आउजाउ गर्नेहरूले निकै सास्ती भोगिरहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले पहिरो हटाएर राजमार्ग सहज बनाउने प्रयास भइरहेको बताए ।

रासस
रासस नेपालको राष्ट्रिय समाचार एजेन्सी हो । नेपालखोज राससको आधिकारिक ग्राहक पनि हो ।
प्रतिक्रिया