मंगलबार, वैशाख ३०, २०८२

पोस्ट कोभिडका बिरामी बढ्दै

नेपालखोज २०७८ असार २६ गते १४:२८

काठमाडौं । कोभिड-१९ सङक्रमितको सङ्ख्या केही न्यून भए पनि पोष्ट कोभिडका बिरामी भने बढ्दै गएका छन् । कोभिड निको भएपछि पोस्ट कोभिडको समस्या आएको हो ।

एकिन तथ्याङ्क नभए पनि उपचारमा संलग्न चिकित्सकका अनुसार पोस्ट कोभिडका बिरामी बढ्दो सङ्ख्यामा छन् । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष रहेका फिजिसियन डा भोजराज अधिकारीले कोभिड भएर अस्पतालमा रहेकामध्ये ५० प्रतिशत पुनः परीक्षणका लागि आउने गरेका बताए ।

तीमध्ये आधामा केही न केही समस्या देखिने गरेको उनको भनाइ छ । अस्पताल भर्ना नभई घरमै उपचार गरेका पनि समस्या लिएर आउने गरेका उनले जानकारी दिए ।

पुष्पाञ्जली अस्पतालमा बिरामी परीक्षण गर्ने डा अधिकारीका अनुसार दैनिक यस खालका बिरामी अस्पतालमा आउने गरेका छन् । कोभिड निको भएपछि खोकी लागिरहने, श्वास्वा भइरहने जस्ता समस्या लिएर बिरामी आउने गरेका छन् । परीक्षण गर्दा कोभिड नेगेटिभ देखिने तर लक्षण भने बाँकी नै रहने समस्या देखिने गरेको बताइएको छ ।

शरीर गल्ने, आलश्य हुने, खान रुचि नहुने, रिंगटा लाग्ने, छाति दुख्ने, शरीर गह्रौं हुने जस्ता समस्या लिएर पनि बिरामी आउने गरेका छन् । कतिपय बिरामीले समस्या भएको बताए पनि परीक्षण गर्दा केही पनि नदेखिने गरेको अधिकारीको भनाइ छ ।

कतिपय बिरामीलाई कोभिडपछि मधुमेह नघट्ने समस्या पनि देखिने गरेको छ भने कतिपयलाई स्टेरोएड औषधिका कारण रगतमा चिनीको मात्रा बढी हुने गरेको छ ।

कलेजोको इञ्जाएम बढेर वाकवाकी हुने समस्या लिएर बिरामी आउने गरेका डा अधिकारीको भनाइ छ । पोष्ट कोभिडका बिरामीमा फोक्सो सुक्ने र कर्किने समस्या आउने गरेको बताइएको छ । लामो समय अक्सिजन लगाएका बिरामीमा शरीरलाई चाहिने पौष्टिक तत्व कम हुने हुँदा समस्या देखिने गरेको छ ।

कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरका कोभिड टिमलिडर डा पुकार घिमिरे यस्ता बिरामी नियमित आउने गरेका बताउँछन् ।

उपचारपछि पुनः स्वास्थ्य परीक्षण गर्न आउँदा धेरैजसोको फोक्सोमा निमोनिया सुधार भई नसकेको अवस्थामा आउने गरेको बताइएको छ । सुधारोन्मुख हुँदै गर्दा थप केही भइहाल्छ कि भन्ने आशंका लिएर बिरामी आउने गरेका उनको भनाइ छ ।

बिरामीलाई थकान महसुस हुने, हातखुट्टा गल्ने, शरीर गलेर काम गर्न नसक्ने, खोकी लागिरहने जस्ता समस्या पनि देखिने गरेको उनले बताए ।

पोष्ट कोभिडका बिरामीको फोक्सोमा ढुसीको सङ्क्रमण रहने र त्यसबाट खकारमा रगत आउने समस्या लिएर बिरामी आउने गरेका छन् । मुटुको चाल छिटोछिटो घटबढ हुने समस्या पनि हुने गरेको बताइएको छ ।

चितवन मेडिकल कलेजका मनोरोग विशेषज्ञ प्रा डा सिपी सेढाईं कोभिडपछि मनोरोगको समस्या लिएर बिरामी आउने गरेका बताउँछन् । परीक्षणका लागि आउने बिरामीमध्ये १५ प्रतिशत हाराहारी पोष्ट कोभिडका रहेका उनको भनाइ छ ।

ठूला-ठूला घटना देखेपछि डराएर समस्या देखिए जस्तै गरी पोष्ट कोभिडका बिरामी अस्पताल आउने गरेका सेढाईं बताउँछन् । त्यस्ता बिरामीलाई सम्झाई बुझाई गर्ने र आवश्यक देखिएमा औषधि दिने गरिएको सेढाईंको भनाइ छ ।

चितवन मेडिकल कलेजले पोष्ट कोभिडका बिरामीका लागि छुट्टै उपचारको व्यवस्थापन गरेको छ । सो विभागमा नियमित बिरामी आउने गरेका कलेजले जनाएको छ । जिल्लामा यहाँ भन्दा धेरै बिरामी बाहिरी जिल्लाबाट आउने गरेका छन् ।

प्रतिक्रिया