मंगलबार, वैशाख ३०, २०८२

‘प्रचण्डबाट अराजकता र अस्थिरता सिर्जना गर्दै हिँड्ने काम भयो’

नेपालखोज २०७८ असार २६ गते २०:५४

काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँग एकता गर्दा क्रान्तिकारी हुने र आफूहरुले केपी ओलीलाई नेता मान्दा कसरी गैरक्रान्तिकारी हुन्छ ? भन्दै प्रश्न गरेका छन् ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले नेताहरुको स्वार्थ, बनावटी र व्यक्तिगत लफडाको कारण तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटेको दाबी गरे ।

उनले भने, ‘एमाले र माओवादी तालमेल गर्दा नेकपाले झण्डै दुई तिहाई नजिक मत पायो । पार्टी एकता पनि गरियो । नेकपा बनायौं । नेताहरुको स्वार्थको कारणले बनावटी र व्यक्तिगत लफडा गरेर पार्टी विभाजनतिर गयो । हामी अन्तिसम्म पनि एकताको पक्षमा उभियौं । पार्टी फुट्न नदिनको लागि अधितम प्रयास गर्यौं । तर, नेताहरुको व्यक्तिगत स्वार्थको कारणले नेकपा फुट्यो । हामी संस्थापन पक्षमै एक भएर उभियौं । हामीलाई अहिले गैरक्रान्तिकारी भनिएको छ । प्रचण्डले ओलीसँग एकता गर्दा क्रान्तिकारी हुने, अनि बादल र टोपबहादुरले ओलीलाई नेता मान्दा गैर क्रान्तिकारी हुन्छ ?’

उनले माओवादी केन्द्रले एमालेसँग गएको चुनावमा तालमेल नगरेको भए अवस्था अत्यन्तै नाजुक हुन्थ्यो भन्ने पनि टिप्पणी गरे । उनले भने–‘माओवादी पार्टी शान्ति प्रक्रियामा आएपछि पहिलो संविधानसभाको चुनावमा पहिलो भयो । दोस्रो संविधानसभाको निर्वाचनमा तेस्रो भयो । यो भन्दा अघिको निर्वाचनमा माओवादी केन्द्र एक्लै लडेको भए हालत के हुन्थ्यो ? एमालेसँग तालमेल गरेकै कारण माओवादकिो अलि–अलि अस्तित्व रह्यो ।’

उनले माओवादी केन्द्रमा विगत ३३ वर्षदेखि एउटै व्यक्ति नेतृत्वमा रहेको भन्दै प्रचण्डप्रति आक्रोश पोखे । आफूले बनाएको संविधान, कानुन र ऐन नमान्ने अनि अराजकता र अस्थिरता सिर्जना गर्दै हिँड्ने काम प्रचण्डबाट भएको पनि उनको आरोप छ ।

उनले आफूले प्रधानमन्त्री नपाएको झोंकमा प्रचण्डले प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने हर्कत गरेको पनि गम्भीर आरोप लगाए । २०६९ सालमा माओवादीले नाम मात्रैको महाधिवेशन गरेको स्मरण गर्दै उनले त्यसयता कहिल्यैपनि महाधिवेशन नगरेको जिकिर गरे ।

उनले भने, ‘२०६९ सालमा भएको महाधिवेशनमा पनि आफ्ना हुनमानहरुको लिष्ट बनाउने अनि ताली पड्काउने काम भएको थियो । त्यतिवेला पनि हामीले असहमति जनाएकै थियौं । अहिले ९ वर्षसम्म पार्टीको महाधिवेशन गरिएको छैन् । यसरी पार्टी चलाउने छुट हुन्छ त ?’

उनले माओवादी केन्द्रमा वर्षैपिच्छे केन्द्रीय कमिटी परिवर्तन भैरहेको पनि खुलासा गरे । रायमाझीको प्रश्न छ, ‘यो कसरी वैधानिक भयो त ?, महाधिवेशन नगर्ने अनि वर्षैपिच्छे केन्द्रीय कमिटी परिवर्तन गरिरहने ?’ उनले अब सबै कम्युनिष्ट र वामपन्थीहरु धु्रव्रीकृत हुन जरुरी रहेको आवश्यकत्ता औंल्याए ।

माओवादी केन्द्र खारेजीको लागि निर्वाचन आयोगमा आफूहरुले निवेदन दिएको र छिटो निर्णय गरिदिन ताकेदा पनि गरिरहेकोे रायमाझीको भनाई छ । उनले वर्तमान प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भीजनरी, सफल र निर्णय गर्न सक्ने नेताको रुपमा चित्रण गरे ।

प्रतिक्रिया