युरोकप फुटबलको फाइनलमा आज इंग्ल्यान्ड र इटाली भिड्दै

नेपालखोज २०७८ असार २७ गते ८:४२

काठमाडौं । युरोकप फुटबलको फाइनलमा आज इंग्ल्यान्ड र इटाली भिड्दै छन् । वेम्बली स्टेडियमा आज राति १२ः४५ बजे खेल सुरु हुनेछ ।

इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनल खेल्न लागेको हो । एक पटकको च्याम्पियन इटाली भने चौंथो पटक फाइनल खेल्न लागेको हो । यसअघि इटालीले विश्वकपमा ६ पटक फाइनल खेलिसकेको छ ।

इंग्ल्यान्ड भने युरोकपको फाइनल खेल्ने १३ औं राष्ट्र बनेको छ । इंग्ल्यान्ड सन् १९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । इंग्ल्यान्डले डेनमार्कलाई पराजित गर्दै इटालीसँगको भेट पक्का गरेको हो ।

इंग्ल्यान्ड र इटालीबीच हालसम्म २७ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा इटाली हाबी हुँदै आईरहेको छ । इंग्ल्यान्डविरुद्ध इटालीले ११ खेल जितेको छ । इंग्ल्यान्डले भने ८ खेलमा जित निकालेको छ । दुई टिमबीचको ८ खेल बराबरीमा सकिएको छ ।

इंग्ल्यान्ड र इटाली दुबै टोली यस पटक उपाधि जित्ने लक्ष्यमा रहेका छन् ।

प्रतिक्रिया