एमाले कार्यदलको बैठक जारी, स्थायी कमिटी बैठकमार्फत एकताको घोषणा हुने

काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक अहिले सुरु भएको छ । अर्थ मन्त्रालय सिंहदरबारमा केहीबेर अघि सुरु भएको बैठकलाई निर्णायक मानिएको छ । आज बिहान ८ बजेका लागि तय गरिएको बैठक वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदल सदस्यहरु ऋाउन ढिला भएका कारण समयमै सुरु हुन नसकेको हो ।
नेपाल पक्षका सदस्यहरुले बैठकस्थल आउनुअघि वरिष्ठ नेता नेपालको कोटेश्वरस्थित नेपाल निवासमा आन्तरिक छलफल गरेका थिए ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका सदस्यहरु भने तोकिएको समयमा नै बैठकस्थल पुगेका थिए । बैठकस्थलमा प्रवेश गर्दै नेपाल पक्षका कार्यदल सदस्य गोकर्ण विष्टले सुखद् समाचार आउने प्रतिक्रिया दिएका छन् ।
एमालेको माधव नेपाल समूहको माग र संस्थापनको अडानका बीच जेठ २ अघि फर्किने गरेर सहमतिमा पुगेको छ । सहमतिले एमालेले माओवादीसँग एकता हुँदा मनोनयन गरेका केन्द्रीय र स्थायी कमिटी सदस्य एवं नेकपा विघटन भएसँगै माओवादीबाट आएका नेताहरूको व्यवस्थापनका विषयमासमेत सहमत भएको छ । एमालेको विवाद समाधान कार्यदलले गरेको सहमति अनुमोदनका लागि बैठक बस्न लागेको हो ।
कार्यदलको बैठक सकिएपछि आजै एमालेको स्थायी कमिटी बैठक पनि बस्दै छ । कार्यदलको बैठक सकिए पछि स्थायी कमिटीको बैठक बस्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।
दुबै समूह सम्मिलित स्थायी कमिटी बैठक बस्ने र अदालतमा भएको हस्ताक्षर फिर्ता गर्ने प्रक्रियासँगै एकताको घोषणा हुने बताइएको छ । योसँगै फागुन २३ पछि एमालेको बैठक बहिष्कार गर्दै आएको नेपाल समूहका नेता पाँच महिनापछि पार्टीको बैठकमा सहभागी हुने भएका छन् ।
प्रतिक्रिया