‘संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न पाउने व्यवस्था राख्नुपर्छ’

काठमाडौं । नेकपा (एमाले)का नेता तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न पाउने व्यवस्था राख्नुपर्ने बताएका छन् ।
आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले प्रतिनिधि सभा र राष्ट्रिय सभा विचको विभेद हटाउनका लागि संविधान संशोधन गरेर भएपनि राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउन सकिने व्यवस्था राख्नुपर्ने बताए ।
उनने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/८९ को बजेट राष्ट्रिय सभामा पेस गर्नुपर्ने पनि बताए । नियमावली परिवर्तन गरेर भएपनि बजेट राष्ट्रिय सभाबाट पारित गर्नुपर्ने व्यवस्था राख्नुपर्नेमा उनले जोड दिए । राष्ट्रिय सभालाई बजेट बारे छलफल तथा विचार, विमर्श गर्ने अधिकार भएको उनले बताए ।
राष्ट्रिय सभा सदस्य गौतमले सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन गराएर नेकपा (माओवादी केन्द्र) र नेकपा(एमाले) व्युतिएको अवस्थामा आफुले नेकपा(एमाले) रोजेर बैठकमा समेत उपस्थिति भएको पनि बताए ।
पार्टी अध्यक्ष ओलीले ०७५ साल जेठ २ गतेको अवस्थामा केन्द्रीय कमिटीको बैठक बोलाएपछि आफु बैठकमा सहभागी भएको स्पष्ट पारे । वामदेव केपी ओली तर्फ गएको भन्ने हल्ला भएको भन्दै उनले आफू केपी ओलीतिर नभई एमाले भएको प्रमाण पेस गर्न बैठकमा गएको बताए ।
उनले भने – ‘केही समय पहिले नेकपा हुँदाखेरी भएको पार्टी विभाजनमा म कतैपनि सामेल हुन पाइनँ । सकिनँ । र मलाई मन लागेन । अहिले म नेकपा एमाले पुनःस्थापित भएपछि मैले एमाले रोज्नैपर्यो । म एमालेको एउटा सदस्य हुँ । जिम्मेवार व्यक्ति पनि हुँ । जिम्मा पाएँ त्यो निर्वाह गर्ने व्यक्ति पनि हुँ । त्यसो भएर म केही समय पहिले पार्टी अध्यक्ष कमरेड केपीले ०७५ साल जेठ २ को अवस्थामा केन्द्रीय कमिटीको बैठक बोलाउनु भयो । र म त्यो बैठकमा भाग लिन गएँ । धेरै मानिसहरुले के भने भने वामदेव केपीतिर गयो भनेर भने । मैले यो सभामार्फत् हाम्रो देशका सबै जिम्मेवार राजनीतिज्ञहरुलाई, जनतालाई, नागरिकलाई जानकारी गराउन चाहान्छु, म कुनै तर्फ गएको होईन । म नेकपा (एमाले) भएको हुनाले एमाले भएको प्रमाण पेस गर्न गएको हो । तर मैले पार्टीमा गइसके पछि जे भूमिका निर्वाह गर्छु भनेको थिएँ त्यो भूमिका यद्यपी प्राप्त गर्न सकिनँ ।’
राष्ट्रिय सभा सदस्य गौतमले सत्तारुढ नेकपा (एमाले)ले गरेको अराजनीतिक क्रियाकलाप, संविधान र ऐन, नियमहरु कुल्चने क्रियाकलापले नेपाली जनताको शिर निहुँराउने अवस्था सृर्जना गरेको टिप्पणी पनि गरे ।
प्रतिक्रिया