राजधानीमा ओलीसमर्थकको प्रदर्शन, सरकारविरुद्ध गिद्धेदृष्टि लगाए मैदानबाटै जवाफ दिन्छौं

काठमाडौ । सत्तारुढ नेकपा एमाले निकट भ्रातृ संगठनले काठमाडौंमा सडक प्रदर्शन गरेका छन् । नेपाल खेलकुद महासंघ र युवा संघ नेपालको आह्वानमा आइतबार दिउँसो विपक्षी गठबन्धनविरुद्ध उनिहरूले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरुले विपक्षी गठबन्धनविरुद्ध नारा लगाएका थिए । रमेश पौडेल नेतृत्वको नेपाल खेलकुद महासंघले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परिसरमा प्रदर्शन गरेकाे छ, भने युवा संघ नेपालले बिजुली बजारबाट माइतीघर मण्डलसम्म प्रदर्शन गरेको थियो । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्वीर अंकित पोस्टकार्ड बोक्दै दुवै संगठनमा आवद्ध प्रदर्शनकारीहरुले नाराबाजी गरे । खेलाडीहरुले ‘खेलाडीहरु जाग्दैछन् , राष्ट्रघातीहरु भाग्दैछन् ’, ‘खेलाडीहरुको आह्वान, तोकिएको मितिमा निर्वाचन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रर्दशन गरेका थिए ।

त्यस्तै प्रदर्शनको क्रममा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले वर्तमान एमालेको नेतृत्वमा रहेको सरकारविरुद्ध गिद्धेदृष्टि लगाउनेलाई मैदानबाट जस्ताको त्यस्तै जवाफ दिने चेतावनी दिएको छ । प्रदर्शन पछिको कोणसभामा बोल्दै संघका अध्यक्ष किरण पौडेलले सरकारलाई चौतर्फिरुपमा घेरावन्दी गर्दै विपक्षी गठबन्धनले राष्ट्रघाती तथा जनघाती गतिविधिहरु गरिरहेको उल्लेख गर्दैै त्यस प्रकारका गतिविधिलाई ध्वस्त बनाउने चेतावनी दिए ।
नेपालको इतिहासमा तीन पटक मात्र नेपालको नक्सा परिवर्तन भएको उल्लेख गर्दै अध्यक्ष पौडेलले पृथ्वी नारायण, जंगबहादुर पछि वर्तमान केपी शर्मा ओलीले चुच्चे नक्सा जारी गरी नेपालको इतिहासमा ऐतिहासिक कार्य गरेको दावी गरे । विपक्षी गठबन्धनले चुच्चे नक्सा जारी गरेकै कारण सरकारलाई चौतर्फी घेरावन्दी गरेको उल्लेख गर्दै नेपालको भूमि रक्षाको निम्ती युवा संघले जस्तोसुकै परिस्थितीको सामाना गरी अगाडी बढ्ने उद्घोष गरे ।

साथै उनले नेपाली युवाहरुको रगतमा होली खेल्ने कुचेष्ठा नगर्न कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्ष, जनमोर्चालगायतलाई चेतावनी दिँदै विपक्षीहरु मौदानमा आए जस्ताको त्यस्तै संघले जवाफ दिने चेतावनी दिए ।
संघसँग भिड्न आएमा प्रतिवादमा उत्रन निर्देशन दिँदै अध्यक्ष पौडेलले सडकमा भिड्न आउनेको जिब्रो थुत्न संघका कार्यकर्ता तयार रहेको उद्घोष गरे ।
कार्यपालिकालाई न्यायपालिकाले हस्तक्षेप गरि मुलुकमा राजनीतिक अराजकता मच्चाउन थालेको उल्लेख गर्दै उनले युवाहरुले सर्वोच्चको गतिविधिलाई नियाली रहेको बताए । सर्वोच्चमा सेटिङ हुन सक्ने आशंका व्यक्त गर्दै उनले मुद्धाको फैसला आउनु पूर्व माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बोलेको जस्तोका त्यस्तै फैसला आउनु कुखुरा हराउनु र स्याल कराउनु उस्तै भएको बताए ।

त्यस्तै उनले संघका इन्चार्ज महेश बस्नेतको नेतृत्वमा ८ वर्ष अगाडी युवा संघले अख्तियार दुरुपयोग अनुसन्धानमा दर्ता गरेको लडाकु समायोजनको अर्वौ रकमको घोटलाको फाइलमा तत्तकाल अनुसन्धान अगाडी बढाउन समेत माग गरे । उक्त फाइलको अनुसन्धान अगाडी बढाई आम संघका कार्यकर्ताले प्रचण्डलाई जेलमा हेर्न चाहेको समेत उनले बताए ।
प्रतिक्रिया