बुधबार, जेठ १, २०८२

युथ तथा जुनियर बक्सिङतर्फ खेलाडीको छनोट सुरु

नेपालखोज २०७८ असार २८ गते १:००

काठमाडौं । नेपाल बक्सिङ संघको आयोजनामा एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगिताका लागि खेलाडी छनोट सुरु भएको छ । ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आइतबारदेखि सो छनोट सुरु भएको हो ।

पहिलो दिन जुनियरतर्फ पुरुष ५७ किलोमा नक्साल बक्सिङ क्लबका भूमिक थापाले ललितपुरका विशाल श्रेष्ठलाई हराउँदै फाइनलमा प्रवेश गरे। युथतर्फ पुरुष ५४ किलोमा झापाका प्रविण बयल्कोटीले धरानका सिंहबहादुर लिम्बू तथा बोसीगाउँका सुलभ मालीले झापाका रोहन मलिकलाई पराजित गर्दै फाइनलका लागि स्थान बनाए ।

त्यस्तै युथतर्फ पुरुष ६० किलोमा इन्द्रबहादुर सुनारले रोज थापा मगरलाई पराजित गरे । यसैगरी युथतर्फ महिला ४८ किलोमा नक्साल बक्सिङ क्लबकी तेजीमाया गुरुङले झापाकी अनुष्का कुनाललाई पराजित गर्दै फाइनलमा प्रवेश गरे । जुनियरतर्फ पुरुष ५० किलोमा कास्कीका मानबहादुर हमालले ललितपुरका सुजल थापालाई, ५४ किलोमा बक्समान्डुका छिरिङ शेर्पाले रामेछापका आर्यन गहतराजलाई तथा ७५ किलोमा ललितपुरका सुदेन गिरीले मेघदूतका अतुल्य भण्डारीलाई पराजित गरे ।

त्यस्तै जुनियरतर्फ महिला ५० किलोमा मकवानपुरकी रोशनी घलानले झापाकी अनिशा खवास तथा ५४ किलोमा रामेछापकी स्वस्तिका तिवारीले मकवानपुरकी विनिता मोक्तानलाई पराजित गरे । प्रतियोगितामा २६ पुरुष तथा नौ महिला खेलाडीको सहभागिता रहेको छ । पुरुषतर्फ युथमा ६ तथा जुनियरतर्फ चार विधामा खेलाडीबीच प्रतिस्पर्धा हुँदैछ ।

महिलातर्फ युथ र जुनियरतर्फ दुई दुई विधामा खेलाडी एकापसमा भिड्ने छन् । नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेका अनुसार प्रदर्शनका आधारमा खेलाडी छनोट गरिने छ । एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगिता आगामी भदौ १ गतेदेखि युनाइटेड अरब इमिरेटस्को दुबईमा हुने प्रशिक्षक डम्मरदत्त भट्टले जानकारी दिए । प्रतियोगिता मंगलबारसम्म चल्ने छ ।

प्रतिक्रिया