प्रदेशसभा : विपत् घटनाबाट पीडित परिवारलाई राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकको शून्य समयमा बोल्ने सदस्यहरुले हालै भएको विपत् घटनाबाट पीडित परिवारलाई राहतको व्यवस्था गर्न, क्षतिग्रस्त संरचनाहरुको पुनःनिर्माण गर्न तथा शान्ति सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गरेका छन् ।
बैठकमा प्रदेशसभा सदस्य गेल्बुसिंह बोहराले दार्चुलाको नौगाड गाउँपालिका–३ को गुण्डाज खोलामा असार २३ गते आएको बाढी र पहिराको घटनाले तीनको मृत्यु र एक घाइते भएको, खानेपानी, जलविद्युत् आयोजना र बालीनालीमा क्षति पुगेको भन्दै पीडित परिवारलाई राहत दिन र बिग्रे भत्केका आयोजना पुनः सञ्चालन गर्न माग गरे।
अर्का सदस्य भरतबहादुर खड्काले प्रदेशमा कोरोना कहरका कारण भोकमरीको समस्या सृर्जना हुन थालेकाले यसको समाधानमा ध्यान दिन र हत्या हिंसा बलात्कार जस्ता अपराधिक घटना हुन नदिई शान्ति सुव्यवस्थाको भरपर्दो व्यवस्था गर्नुपर्ने बताए ।
हर्कबहादुर कुवँरले अछामको पञ्चदेवल क्षेत्रमा वर्षापछिको विपद्का घटनाबाट प्रभावित परिवारलाई राहत दिन माग गरे । बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले ‘प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८’ लाई दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइयोस् भनी पेस गरेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।
प्रतिक्रिया