इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले जित्यो युरोकप फुटबलको उपाधि

काठमाडौं । इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले १६ औं संस्करणको युरोकप फुटबलको उपाधि जितेको छ । आज बिहान सकिएको फाइनल खेलमा घरेलु टोली इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको हो ।
वेम्बली स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
यससँगै इटालीले दोस्रो पटक युरोकपको उपाधि जितेको छ । यस अघि इटालीले १९६८ मा युरोको उपाधि जितेको थियो ।
इंग्ल्यान्ड भने पहिलो पटक युरोकपको उपाधि जित्न असफल भएको छ । इंग्ल्यान्डमाथिको जितसँगै इटालीले ३४ खेलसम्म अपराजित यात्रालाई कायम राख्न सफल भएको छ । इटालीले यस अघि ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान भङ्ग गरेको थियो । इटालीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो ।
इटालीले सेमिफाइनलमा तीन पटकको च्याम्पियन स्पेनलाई पेनाल्टीमै हराएर फाइनल यात्रा तय गरेको हो । इटालीले स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गरेको थियो । इंग्ल्यान्डले भने डेनमार्कलाई हराएर इटालीसँगको भेट पक्का गरेको थियो । इंग्ल्यान्डले डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गरेको थियो ।
प्रतिक्रिया