‘सरकारले राम्रो काम गरेको देख्न नसकेर विपक्षी दलहरुले गलत प्रचार गरे’

काठमाडाैं । राष्ट्रिय सभा सदस्य भैरव श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले समृद्धिको राम्रो काम गरेको देख्न नसकेर विपक्षी दलहरुले गलत प्रचार प्रसार गरेका बताएका छन् ।
सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य श्रेष्ठले सरकारले समृद्धिको लागि काम गरेको र संविधान कार्यान्वयनको सम्बन्धमा कानुन निर्माणको काम गरेको देख्न नसकेर विपक्षी गठबन्धन अत्तालिएर सरकारको विरोध गरेको बताए ।
उनले संसदले कुनै कानुन बनाउन नसक्ने र कुनै सरकार दिन नसक्ने स्थितिका कारण संसद विघटन गरिएको भएपनि असंवैधानिक कदम भनेर रटान लगाइएको बताए ।
निर्वाचनमा जानु नै संविधानसम्म्त र लोकतान्त्रिक अभ्यास भएको उनले जिकिर गरे । राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देवले नेपाल वायु सेवा निगमलाई नीजिकरण गर्न खोजिनु आपत्ति जनक रहेको भन्दै निगमलाई नीजिकरण गर्ने निर्णय फिर्ता लिन माग गरे ।
वर्तमान सरकारलाई सर्वोच्च अदालतले काम चलाउ भनेकाले यस्तो महत्वपूर्ण निर्णय यो सरकारले गर्न नमिल्ने बताए । निगमलाई अहिलेकै अवस्थामा चलाउन नसकिएपनि अहिलेको अवस्था फेर्नुपर्ने र कसरी चलाउन सकिन्छ भनेर राजनीतिक सहमती कायम हुनुपर्ने उनले बताए ।
राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री ओली बेठिक भएका कारण राज्यका सबै संयन्त्रहरुले दुख पाएको बताए । प्रधानमन्त्री ओलीलाई असहज हुँदा कोरोना आउने र लकडाउन हुने तर प्रधानमन्त्रीलाई सहज हुँदा कोरोना नलाग्ने जस्तो गरिने गरेको बताए ।
राष्ट्रपतिको मुख्यकाम प्रधानमन्त्री नियुक्त गर्नु भएपनि राष्ट्रपतिले संवैधानिक काम गर्न नसकेको उनले बताए । राष्ट्रिय सभामा बोल्ने सबै सदस्यहरुले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा आफ्नो धारणा तथा विचारहरु राख्नुभएको थियो ।
प्रतिक्रिया