देशवासीका नाममा सम्बोधन गर्दै ओली, एमालेको रोकियो स्थायी कमिटी बैठक

काठमाडौं । प्रधानमन्त्री खड्कप्रसाद शर्मा ओलीले आज (मंगलबार) देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज दिउँसो २ बजे ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका हुन् ।
सर्वोच्च अदालतले हिजो (सोमबार) संसद् विघटन बदर गर्दै शेरबहादुर देउवालाई ४८ घण्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो । राष्ट्रपतिले अब प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई आजै नियुक्त गरी शपथ ग्रहण गराउनुपर्नेछ ।
ओलीले जेठ ७ गते मध्यरातमा गरेको सिफारिसअनुसार राष्ट्रपतिले संसद् विघटन गरेपछि सर्वोच्चले हिजो (सोमबार) उक्त निर्णय बदर गरिदिएको हो ।
यसैबीच एमाले स्थायी कमिटी बैठक पनि स्थगित भएको छ । बालुवाटारमा दिउँसो १ बजे स्थायी कमिटी बैठक बोलाए पनि २ बजे देशवासीका नाममा सम्बोधन गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जनाएका छन् । ‘प्रधानमन्त्रीले २ बजे देशवासीका नाममा सम्बोधन गर्नुपर्ने कारणले स्थायी कमिटी स्थगित गरिएको छ,’ उनले भने ।

प्रतिक्रिया