राष्ट्रिय युवा संघद्वारा युथफोर्स ब्युँतिएको घोषणा

काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संघले युथ फोर्स गठन गरेको छ । सोमबार काठमाडौंमा बसेको युवा संघको बैठकले युथ फोर्सको गठन गरेको हो । यस अघि नै गठन गरिएको युथ फोर्र्सलाई खारेज गरिएको भएपनि पुनः गठन गरिएको छ । ५०१ युर्थ फोर्सको प्रमुखको जिम्मेवारी क्षितिज थेवेलाई दिइएको छ भने उपप्रमुखको जिम्मेवारी पुष्प श्रेष्ठले पाएका छन् ।
नेकपा एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने प्रयास भएपछि त्यसको प्रतिकारका लागि युथ फोर्सलाई ब्युँताएको नेकपा एमालेका नेता तथा युवा संघ नेपालका ईन्चार्ज महेश बस्नेतले बताए । उनले भने– ‘युथ फोर्स फेरि जन्मिएको छ । युथ फोर्स सिरानमुनी राखिएको खुकुरी जस्तै हो किसानको घरको । र अप्ठ्यारो पर्यो भने संकट पर्यो भने यसलाई फेरि निकालिनेछ भनेर हामीले भनेका छौ । युथ फोर्स अहिले जन्मिएको छ । यसले नेकपा एमालेको सिद्धान्त विचारको रक्षा गर्ने छ । जनताको बहुदलिय जनवादको प्रयोग गर्ने , यसलाई रक्षा गर्ने र यसलाई विस्तार गर्ने सन्दर्भमा यसले महत्वपुर्ण भूमिका खेल्ने छ । यसले आवाज विहिनहरुको आवाज उठाउन भूमिका खेल्ने छ ।’
उनले युथ फोर्सलाई नेकपा एमालेमाथिको घेराबन्दी तोड्दै आवश्यकता अनुसारको प्रतिकारका लागि योजना बनाउन पनि निर्देशन दिए । साइबर सेनासंग सहकार्य गरि एमालेविरुद्ध भ्रम छर्नेहरुविरुद्ध सही सन्देश दिने काममा भूमिका निर्वाह गर्न उनले आग्रह गरे ।
नेता बस्नेतले केपी शर्मा ओली बुधबार बालकोटस्थित निवास प्रस्थान गर्दा २ हजार वटा गाडी र ३ हजारवटा मोटरसाइकललले स्वागत गर्ने पनि बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले ३० दिनभित्र विश्वासको मत लिन नसकी पुनः नेकपा एमालेकै सरकार बन्ने दाबी पनि गरेका छन् ।

प्रतिक्रिया