बिरामी र आफन्तको भिडले बालबालिकामा संक्रमणको जोखिम बढ्यो

कोरोना संक्रमणदर पहिलो लहरभन्दा उच्च
काठमाडौं । कान्ति बाल अस्पतालमा डेढ महिनाअघि बेहोस अवस्थामा पुर्याइएका एक बालकको उपचारकै क्रममा मृत्यु भएको समाचार सार्वजनिक भयो । झाडाबान्ता लागेर अचेत अवस्थामा पुर्याइएका ती बालकको सुरुमा एउटा निजी प्रयोगशालामा कोरोना परीक्षण गरिएको थियो । रिपोर्ट नेगेटिभ आएसँगै उनको अवस्था पनि झन् जटिल हुँदै गयो ।
पहिलो परीक्षण गरिएको तीन दिनपछि कान्ति अस्पतालमा उनको पुन: परीक्षण गरियो । बालकमा कोरोना संक्रमण पुष्टि भयो । यस्तै रोगका विभिन्न लक्षण देखिएर पीसीआर र एन्टिजेन परीक्षण गरेसँगै कान्ति बाल अस्पतालमा पनि कोरोना संक्रमित बालबालिकाको संख्या पहिलो लहरभन्दा उच्च देखिएको छ । कान्तिले उपचारका लागि इमर्जेन्सीमा भर्ना हुने सबै बालबालिकाको एन्टिजेन परीक्षण गरिरहेकाले संक्रमण पुष्टि भए समयमै उपचार हुन थप सहयोग पुगेको छ ।
पछिल्लो तथ्यांकअनुसार कान्तिमा कोराना संक्रमणको दोस्रो लहरमा आठ बालबालिकाको मृत्यु भएको छ । जन्मिएदेखि १४ वर्षसम्मका १४२ बालबालिकामा संक्रमण पुष्टि भएको छ ।
२०७७ चैत १२ पछि मृत्यु हुनेमा अधिकांश ९ महिनादेखि १४ वर्ष उमेर समूहका रहेको अस्पतालकी वरिष्ठ मेडिकल रेकर्डर अधिकृत सुनीता पोखरेलले तथ्यांक दिइन् । हिजो (असार २९ गते मंगलबार) सम्म पाँचजना संक्रमित बालबालिकाको उपचार भइरहेको थियो । आज (असार ३० गते बुधबार) थप नौजना संक्रमित बालबालिकाको उपचार भइरहेको अस्पतालको तथ्यांकमा छ । उपचाररत सबैको अवस्था भने सामान्य रहेको पोखरेलले जनाइन् ।
नेपालका प्रायः सबै अस्पतालमा पहिलोभन्दा दोस्रो लहरमा कोरोना संक्रमण हुने बालबालिकाको संख्या उच्च भएको तथ्यांकले देखाएको छ । कान्तिमा पहिलो लहरको तुलनामा दोस्रो लहरमा संक्रमित हुने र मृत्यु हुनेको संख्या पनि उच्च देखिएको छ । २०७७ चैत ११ गतेसम्मको पहिलो लहरका क्रममा ६ जना बालबालिकाको कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो भने ९५ जनामा संक्रमण पुष्टि भएको थियो । पहिलो र दोस्रो लहरमा गरी मंगलबारसम्म १४ बालबालिकाको मृत्यु भएको तथ्यांक छ । २ सय ३७ बालबालिकामा संक्रमण पुष्टि भएको वरिष्ठ मेडिकल रेकर्डर अधिकृत पोखरेलले जानकारी दिइन् ।
यसैबीच, पहिलो लहरमा संक्रमण देखिएका बालबालिकाभन्दा दोस्रो लहरमा संक्रमण देखिएकामा रोगको लक्षण बढी देखिएको छ । पहिलो लहरमा संक्रमित बालबालिकामा ज्वरो आउने, श्वासप्रश्वास बढ्ने, खोकी लाग्ने, निमोनियाँलगायत लक्षण देखिएका थिए । दोस्रो लहरमा पहिलो लहरका लक्षणसँगै बान्ता हुने, पेट दुख्ने, छालामा रातो दाना (बिबिरा) देखिनेलगायत समस्या देखिएको कान्ति बाल अस्पतालका निर्देशक प्राध्यापक डा. आरपी बिच्छाले जानकारी दिए ।
बालबालिकामा कोरोना संक्रमणको आशंका भए अस्पताल परिसरभित्रै परीक्षणको व्यवस्था गरिएको छ । कोभिडको लक्षण भएकालाई छुट्टै वार्डमा राख्ने व्यवस्था गरिएको छ भने संक्रमण पुष्टि भएकाका लागि छुट्टै कोभिड विभाग स्थापना गरिएको छ । अस्पतालमा बिरामीको अवस्थाअनुसारका विभाग वैज्ञानिक किसिमले व्यवस्थापन गरिएको अस्पताल निर्देशक डा. बिच्छाको दाबी छ । ‘सम्भवतः कोभिड संक्रमित बालबालिकाका लागि सरकारी अस्पतालहरूमध्ये कान्तिमा मात्रै नेपालमै पहिलोपटक वैज्ञानिक किसिमको कोभिड व्यवस्थापन एकाइ स्थापना गरिएको छ,’ उनले भने ।
कोभिड संक्रमित बालबालिकाका लागि हाल अस्पतालमा २५ शय्याको व्यवस्था गरिएको छ । तेस्रो लहरलाई मध्यनजर गर्दै अहिलेदेखि नै अस्पतालले विकल्पको खोजीलाई तीव्र बनाएको छ । तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुन सक्ने विश्व स्वास्थ्य संगठनको आकलनसँगै कोरोना संक्रमित बालबालिकाका लागि थप २५ शय्या थप्ने अस्पतालको योजना छ । हाल अस्पतालमा चारवटा भेन्लिटेरसहितको सघन उपचार कक्ष छ । तेस्रो लहरलाई ख्याल गर्दै चाँडै छुट्टै आठ शय्या क्षमताको आईसीयूको व्यवस्था गर्न लागिएको पनि डा. बिच्छाले जानकारी दिए ।
यता दैनिक उपचारका लागि आउने अभिभावक र बालबालिकाको भिड रहने अस्पतालमा कोरोना संक्रमणको जोखिम अझ बढी देखिएको छ । अस्पतालमा भिड बढी हुने भएकाले आफू र ९ महिनाको बिरामी शिशु अझ जोखिममा परेको काभ्रेकी सीता लामाले गुनासो गरिन् । सीताजस्तै अरू बिरामी बालबालिका लिएर आएका अभिभावकको पनि उस्तै गुनासो छ ।
कोरोना भाइरस संक्रमणमुक्त भएर पनि बालबालिकामा लामो समयसम्म ज्वरो आउने, आँखा र जिब्रो रातो हुने, झाडापखाला लाग्ने, टाउको दुख्ने तथा छालामा खटिरा आउनेजस्ता समस्या देखिन थालेमा एमआईएससीको लक्षण सम्झिनुपर्ने चिकित्सकहरूले बताएका छन् । केही महिनाअघि कान्तिमा उपचारत पाँच बालबालिकामा पीसीआर रिपोर्ट नेगेटिभ आएको तर एन्टिबडी पोजेटिभ देखिएको सार्वजनिक भएको थियो । यसबाट उनीहरूमा कुनै न कुनै समय कोरोना भाइरसको संक्रमण थियो र त्यसले नै जटिलता ल्याएको बुझिने चिकित्सकले आकलन गरेका छन् । अस्पतालका अनुसार पछिल्लो समयमा संक्रमण पुष्टि भएकामध्ये दुई बच्चामा उच्च ज्वरो, एकमा रक्तअल्पता, हार्ट फेलियर, श्वासप्रश्वासमा समस्या रहेको पाइएको थियो ।
अघिल्लो वर्ष २० वर्षभन्दा कम उमेरका कोरोना सङ्क्रमितको संख्या आठ प्रतिशतभन्दा तल थियो । अहिले त्यही उमेर समूहमा सङ्क्रमित १० प्रतिशतभन्दा बढी देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको ठहर छ । बालबालिकामा कोरोना भाइरस संक्रमणको जोखिम हुन नदिन अभिभावक त सचेत हुनुपर्छ नै सरकारले पनि थप सचेतनामूलक कार्यक्रम गर्दै एउटा ठोस स्वास्थ्य नीति बनाउन आवश्यक देखिएको छ ।

प्रतिक्रिया