‘देउवालाई विश्वासको मत दिन हामी बौलाएका छौं र ?’

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका शीर्ष नेता तथा सांसद लक्ष्मणलाल कर्णले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूहरुले कुनै पनि हालतमा विश्वासको मत नदिने स्पष्ट पारेका छन् । उनले भने, ‘शेरबहादुर देउवालाई विश्वासको मत दिनको लागि हामी के बौलाएका छौं र ?’
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आफूहरुको माग र मुद्दा सम्बोधन गर्नको लागि कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले कुनै पहल नगरेको गुनासो पोखे । उनले देउवालाई प्रधानमन्त्री बनाउनको लागि सर्वोच्च अदालतले दिएको परमादेशलाई पनि असंवैधानिकको संज्ञा दिएका छन् । उनले भने, ‘यो फैसला संविधान टार्गेटेड छैन् । यो एउटा पक्ष टार्गेटेड हो । यो व्यक्ति टार्गेटेड हो । यो एउटा पक्षको लक्ष्यलाई मलजल गर्ने फैसला भयो ।’ उनले अदालतको फैसला संविधानसम्मत् नभए पनि उक्त फैसलालाई मान्ने स्पष्ट पारे ।

साथै उनले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओाली र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद समेत दिएका छन् । उनले भने, ‘उहाँहरुले फैसला स्विकार गर्नुभयो, र देशलाई द्वन्द्वबाट बचाउनु भयो ।’ उनले प्रधानमन्त्री देउवालाई मन्त्रिपरिषद विस्तार गर्न चुनौति दिँदै प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने कुरा व्यक्तिगत राय भएको सुनाए । तर, यसबारेमा भोलि बस्ने पार्टीको बैठकले आवश्यक निर्णय लिने पनि कर्णले जानकारी दिए । उनले आफूहरुको अहिले पनि संविधान संशोधनलगायत महत्वपूर्ण मुद्दा बाँकी नै रहेकोले माग पूरा गराउन लागि पर्ने बताए ।
त्यस्तै, नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउने र यो संसद्ले पूर्ण कार्यकाल व्यतित गर्ने दाबी गरेका छन् । उनले भने, ‘हामी सांसदले सर्वोच्च अदालतमा ६ घण्टा लामो समय लाईन बसेर हस्ताक्षर सनाखत गरेर देउवाजीलाई प्रधानमन्त्री बनाउन रिट हालेका थियौं । सर्वोच्चले सोहीअनुसार फैसला गरेको हो । राष्ट्रपतिले अत्यन्तै थोरै समय दिएर धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा दाबी गर्न समय दिनुभएको थियो । हामीले समयअगावै दाबी गरेका थियौं ।’
पौडेलले कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) को माधव कुमार नेपाल समूह, जसपाको उपेन्द्र यादव पक्ष र जनमोर्चा सम्मिलित गठबन्धन कायमै रहने पनि दाबी गरेका छन् । प्रधानमन्त्री देउवाले विश्वासको मत पाउने र यो सरकार १६ महिनासम्म नै चल्ने दाबी गर्दै उनले अराजकता रोक्ने काम अदालतको फैसलाबाट भएको बताए । वर्तमान प्रधानमन्त्री देउवाले राष्ट्रिय सहमतिका साथ अघि बढ्ने बताएकोले सोहीअनुसार नै आफूहरु अघि बढ्ने पनि उनले विश्वास दिलाए । पौडेलले आफ्नो पार्टीका अध्यक्ष प्रचण्डले भने बमोजिम उच्चस्तरीय राजनीति संयन्त्र बनाउन आवश्यक रहेको र यसको सञ्चालन प्रधानमन्त्री देउवाकै समन्वयकारी भूमिकामा हुने पनि बताए ।

त्यस्तै, नेकपा (एमाले) का नेता तथा सांसद शेरबहादुर तामाङले जतिसक्दो छिटो विश्वासको मत लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । उनले भने,‘लामो समय बस्न मन छ भने छिटो विश्वासको मत लिनुहोस, शेरबहादुर देउवालाई खतरा पर्ला है, छिटो विश्वासको मत लिनुहोस् ।’ उनले आफ्नो पार्टीभित्रको विवाद मिल्ने क्रममा रहेको भन्दै एमाले एकताबद्ध भए देउवाले विश्वासको मत नपाउने स्पष्ट पारे ।
तामाङले आफ्नो पार्टीको जनमत हुँदाहुँदैपनि अदालतको परमादेशबाट सरकार देउवालाई सुम्पिनुपरेको दाबी गरे । उनले एमालेभित्रको आन्तरिक जीवनमा केही खटपट सृजना भएको र अहिले आफूहरुबाट पार्टीलाई एकतावद्ध बनाउने प्रयास भैरहेको पनि सुनाए । उनले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनको लागि भोट हाल्नेहरुलाई बाटो खुल्ला रहेको पनि सुनाए । उनले देउवाले विश्वासको मत नपाए मुलुक निर्वाचनमा जाने पनि सुनाए ।

त्यस्तै, नेपाली कांग्रेसका नेता तथा सांसद मिन बहादुर विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओली ‘रेड कार्ड’ खाएर बालुवाटारबाट बालकोट गएको टिप्पणी गरेका छन् । ओलीले सुरुदेखि नै संविधानको घोडा चढी सरकार सञ्चालन गरेको उनको टिप्पणी थियो । आफूहरुले मुलुक र व्यवस्था बचाउनको लागि रिट दर्ता गरेको र सर्वोच्च अदालतले सोहीअनुसार फैसला गरेको विश्वकर्माको भनाई छ ।

उनले ५ दलको गठबन्धन कायमै रहने पनि विश्वास दिलाए । उनले माधव नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने विश्वास दिलाएको पनि सुनाए । उनले प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गर्ने पनि दाबी गरे । उनले प्रधानमन्त्री देउवासँग समन्वयकारी भूमिका खेल्ने स्वभाव भएकोले अहिले पनि सबैलाई मिलाएर लैजाने बताए । उनले विश्वासको मत भने अधिकतम पाउने जिकिर गरे । यसअघिको सरकारले गरेका राम्रा र असल कामलाई भने यो सरकारले निरन्तरता दिने र असंवैधानिक कामलाई भने खारेज गर्ने पनि उनको भनाई छ ।
प्रतिक्रिया