देशभर हल्कादेखि मध्यम वर्षा, ४ प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

नेपालखोज २०७८ साउन १ गते ६:५२

काठमाडौं । मनसुनी वायुको प्रभावले आज देशभर सामान्यदेखि हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले प्रदेश नं १, प्रदेश नं २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको जनाएको छ ।

विभागले आज बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै रातीसम्मै देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन-चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको छ ।

विभागकाअनुसार आगामी २४ घण्टामा प्रदेश नं १, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन-चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको छ । पहाडी भू–भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन-यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया