बिहीबार, वैशाख १३, २०८१

पार्चेको बाबियाको पुल

सुनील उलक २०७८ साउन १ गते ११:०८

पुलको इतिहासलाई कोट्याएर हेर्यौं भने सुरुमा खोलामा कुनै वस्तु वा सामग्रीको सहयोगले आरपार गर्न बनाइनेलाई पुल भनिन्छ । पुल शब्दको अर्थ घाँसको गुजुल्टो हो । बाबियाको गुजुल्टो पारेर बनाइएको डोरोले आरपार गर्न जोडिने हुँदा पुल भन्न थालियो । यसरी बाबियाबाट बन्ने पुललाई बाबियातरो पनि भन्ने गरिन्छ । बाबियातरो नबनाइएका स्थानमा बाबियाको डोरोमा झुन्डिएर पनि खोला तर्नुपर्ने हुन्थ्यो ।

यसरी खोला तर्दा डोरी चुँडिएर मृत्यु हुने घटना धेरै हुन्थ्यो । तर बाबियाको पुल भने धेरै सुरक्षित हुने गर्थ्यो । यसरी बाबियाको डोरी बाँधेर बनाइने पुल नै पुलको प्रारम्भिक स्वरुप हो । यसरी बनाइने पुलको तल्लो भाग जहाँ हिँड्नका लागि पाइला टेक्ने ठाँउमा भने बाँस राखिएको हुन्थ्यो ।

झोलुंगे पुलको इतिहासमा भने सधैं बागलुङको नाम आउने गर्छ । भनिन्छ सबैभन्दा पहिले झोलुंगे पुल बागलुङमा नै बनेको थियो । वि.सं. १८४४ मा गल्कोटे राजा जगत मल्लको समय गोरखा राज्यको पश्चिम विजय अभियानले गल्कोट राज्य पनि गोरखा राज्यमा गाभियो । यसरी राज्यच्यूत भएका गलकोटे राजा जगत मल्लका नाति पृथ्वी बम मल्लले गलकोटनजिकै दरमखोलामा वि.सं. १९०० को आसपासमा कलकत्ताबाट किनेर ल्याएको फलामे साङ्लोबाट झोलुंगे पुल बनाएको भन्ने उल्लेख गरेको पाइन्छ । पछि पृथ्वी बम मल्ललाई जंगबहादुरले भोट युद्ध तथा लखनउ विद्रोहमा सैनिक सहयोग गरे विपत वि.सं १९२४ मा गल्कोटका राजाको रुपमा पुन: राज्य दिएका थिए ।

दरमखोलामा बनाइएको झोलुंगे पुल फलामे साङ्लो छोटो भएको हुँदा खासै टिकेन । तर, यसले एउटा शिक्षा दियो, पछि बेनी टक्सारबाट फलाम निकालेर त्यहीँका स्थानीय कामीहरुले लामा-लामा फलामे साङ्लाहरु बनाएर झोलुंगे पुलको सुरुवात गरे । यसरी झोलुंगे पुलको स्वरुपमा परिवर्तन आयो । साथै टिकाउ र मजबुत पनि हुन थाल्यो । यसरी स्थानीय कामीहरुबाट नै बनाइएका फलामे साङ्लो तथा अन्य सामग्रीबाट बनाइने प्रविधिलाई नै बागलुङे प्रविधि भनेर विश्वमा छुट्टै पहिचान बनाएको थियो ।

तर जहाँ फलामका खानी नजिकै थिएनन् वा स्थानिय कामीहरुले यसरी साङ्लो बनाउन सकेनन् त्यहाँ भने बाबियाको डोरोबाट नै पुल बनाइन्थ्यो । बाबियाको डोरो गुँथेर बनाइएका पुलहरु पनि बलिया नै हुन्थे । तर धेरै वर्ष टिकाउ भने हुदैनथे । बाबियाको पुलमा दुईवटा लामा-लामा बलिया बाबियाको डोरोलाई खोलाको दुई छेउमा बलिया खाँबा गाडेर बाँधिन्थ्यो । ती दुई डोरीमा बाबियाकै डोरीहरु बाँधेर झुन्ड्याइन्थ्यो । जसको तल बाँस राखेर हिँड्न सहज बनाइन्थ्यो । साथै बीच-बीचमा दुई लामा डोरीलाई फराकिलो बनाउन रुखका हाँगा बाँधिन्थ्यो । जसले गर्दा दुई डोरी एक-आपसमा जोडिदैनथे । यसरी बनाइने पुलहरु २-३ वर्षात्‌मा मात्र झेल्दथ्यो ।

May be an image of nature

यहाँ तस्बिरमा कास्की जिल्लाको सिक्लेसनजिकै मादी नदीमाथिको यो पुल बाबियाको डोरीले बनाएको छ । गुरुङहरुको बलियो बस्ती रहेको पार्चेमा रहेको यो पुल हेर्दा गुरुङहरुको मिहिनेत स्पष्ट देख्न सकिन्छ । अहिले पनि सिक्लेसमा मिलेर बसेको गुरुङहरुको बस्ती देख्दा रहर लागेर आँउछ । पर्यटनमा पूर्ण रुपमा निर्भर यो गाउँ नपुग्ने विरलै भेटिन्छ । केही वर्षदेखि सिक्लेसमा पनि कंक्रिटका संरचनाको प्रवेशले भने यसको सुनौलो भविष्य भने देखाउँदैन ।

प्रतिक्रिया