बिमा समितिको नयाँ सर्भर र सफ्टवेयर सञ्चालनमा

काठमाडौं । बीमा समितिको नयाँ सर्भर र सफ्टवेयर संचालनमा आएको छ । शुक्रवार एक कार्यक्रमका बीच बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले रिबन काटेर नयाँ सर्भर र सफ्टवेयरको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले परिवर्तित समयसँगै परिवर्तन हुन सक्नुपर्ने बताए ।
‘प्रविधिलाई प्रयोग गर्दै इन्टरफेस्टलाई खटाउनु पर्छ भन्ने हाम्रो मान्यतालाई आत्मसाथ गर्दै यो चरणमा आइपुगेका हौँ, उनले भने, यो अन्त्य होइन, प्रारम्भ हो, हामीले संसारमा आएका धेरै टेक्नोलोजीलाई अवलम्बन गर्नैपर्छ ।’ फिजिकली इन्टरफेशलाई जति घटाउन सक्यो त्यति सशक्त हुँदै जाने बताउँदै अध्यक्ष सिलवालले यसबाट समयको बचतसँगै इमान्दार व्यवसायिक प्रयास भएको बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीसँग बीमा पटक-पटक विवरण माग्नुपर्ने र सही विवरण आउन नसक्ने भएकोले सही विवरण दिने प्रयत्नले नयाँ सफ्टवेयर र सर्भर संचालनमा ल्याएको बताए । ‘अब कुन कम्पनीको अवस्था कस्तो छ भनेर हेर्न सहज भएको छ, निर्देशक पौडेलले भने, ‘बीमा कम्पनीसँग अब चाँडै जोडिएर यो सफ्टवेयरलाई धेरै भन्दा धेरै चलायमान बनाउनेछौँ ।’
यो सूचना प्रविधिको जमाना भएकोले चाँडो भन्दा चाँडो जनतालाई सही जानकारी दिने उनको भनाइ छ । बीमकहरुबाट समितिलाई पठाउनुपर्ने महत्वपूर्ण तथ्यांकहरु उपलब्ध गर्ने कार्य कठिनाई भएकोले समग्र बीमा व्यवसायको तथ्यांक व्यवस्थापन गर्न र समितिमा सेवा लिन आउने सेवाग्राही तथा सरोकारवालाहरुलाई काम छिटो, छरितो रुपमा सम्पन्न गर्न सूचना प्रविधिको प्रयोग गरी समितिको संस्थागत तथा बीमा व्यवसायसँग सम्बद्ध बीमा नियमनकारी व्यवस्थापन सूचना प्रणालीलाई थप व्यवस्थित गर्न नयाँ सर्भर र सफ्टवेयर जडान गरिएको समितिले जनाएको छ ।
समितिमा अब कम्पनीहरुले आफ्ना वित्तीय विवरण लगायतका अन्य प्रतिवेदन कागजी प्रक्रियामा नभइ सफ्टवेयरबाट नै अनलाइन माध्यमबाट तपशील बमोजिम दैनिक, मासिक, त्रैमासिक, वार्षिकरुपमा पेस गर्न सक्नेछन् । यसमा कानुन, उजुरी, नियमन, नीति विश्लेषण, परिपालन, दाबी तथा सम्पत्ती शुद्धिकरण, बीमा लेख तथा बीमाङ्की, अण्डराइटिङ, वित्तीय लेखा परीक्षण, सूचना प्रविधि सम्बन्धी विवरणहरु प्राप्त गर्नेछन् ।
त्यस्तै स्थलगत सुपरिवेक्षण, गैरस्थलगत सुपरीवेक्षण, कृषि तथा लघु बीमा, पुनर्बीमा, इजाजत, बीमा अभिकर्ता र सर्भेयर, व्यवस्थापन सूचना प्रणालीसम्बन्धी विवरणहरु पनि अनलाइन माध्यमबाटै पेस गर्न सकिनेछ । त्यस्तै समितिको आन्तरिक तथ्यांक व्वस्थापनमा र बीमकहरुबाट प्राप्त हुने विविध प्रकृतिका तथ्यांकहरु व्यवस्थापन गर्नका लागि नयाँ सफ्टवेयर जडान गरिएको हो ।
यस सफ्टवेयर मार्फत समितिको काम कारबाहीमा सहजता हुनुका साथै बीमकहरुबाट प्राप्त हुने तथ्यांक एवं सूचनाहरु व्यवस्थापनमा सहज हुनेछ । यो समग्र बीमा क्षेत्रलाई नै प्रविधिमैत्री र बीमा क्षेत्रका सबै काम अनलाइन प्रणालीबाट गर्ने उद्देश्यले बीमा समितिमा नयाँ सफ्टवेयर इन्स्योरेन्स लेगुरटरी म्यानेजमेण्ट इन्फर्मेशन सिस्टम (आइआरएमआइएस) जडान गरिएको हो ।
प्रतिक्रिया